हेटौँडा : सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका–१२, भिमटार क्षेत्रमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बिहिबार बिहान १० बजेको समयमा भिमटारबाट बोर्डगाउँतर्फ जाँदै गरेको रड र सिमेन्ट लोड भएको ट्र्याक्टर अनियन्त्रित भई ५० मिटर तल खसेर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
दुर्घटनामा ट्र्याक्टर चालक १८ वर्षीय मनिष दनुवार गम्भीर घाइते भएका थिए । उनलाई मेलम्ची नगर अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ११ बजेर २५ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । यस्तै, ५२ वर्षीय राजेन्द्र दनुवार र ४८ वर्षीय बुद्धि बहादुर दनुवार घाइते भएका छन् । दुवै जनालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ ।











