Home मुख्य समाचार मानवसेवा आश्रमको मेची–महाकाली अभियान सम्पन्नः ३०२ जना सडक मानवको उद्दार

मानवसेवा आश्रमको मेची–महाकाली अभियान सम्पन्नः ३०२ जना सडक मानवको उद्दार

मेची–महाकाली राष्ट्रिय उद्दार यात्रा–२०८० को ३५औं दिन काभ्रेपलाञ्चोकको पनौतीमा एकजनाको उद्दार गरिँदै ।

हेटौंडाः हेटौंडामा मुख्यालय रहेको मानवसेवा आश्रमले सुरु गरेको राष्ट्रिय मेची–महाकाली अभियान सम्पन्न भएको छ । सोमबार काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा राष्ट्रिय सभा गृहमा एक कार्यक्रमका बीच ४० दिने राष्ट्रिय मेची–महाकाली अभियान सम्पन्न भएको मानवसेवा आश्रमका प्रदेश संयोजक होमनाथ पौडेलले जानकारी दिनुभयो ।

मानवसेवा आश्रम र आनिछोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको ४० दिने अभियानमा ३ सय २ जना सडक मानिसको उद्दार भएको संयोजक पौडेलले बताउनुभयो । सडकबाट उद्दार भएकामा ९० जना महिला, २०१ जना पुरुष, ७ जना बालक र ४ जना बालिका रहेको रहेका छन् । उद्दारको क्रममा टोलीले हेटौंडाबाट २१ जना, रानिवनबाट ५८ जना, चितवनबाट १२ जना, ललितपुरबाट ५ जना, भक्तपुरबाट १ जना, हेम्जाबाट ३६ जना, छोरेपाटनबाट ३ जना, गोरखाबाट ३ जना, वागलुङबाट १ जना लमजुङबाट २ जना, तिलोत्तमाबाट ३१ जना, सुख्खानगरबाट १ जना, दाङबाट १४ जना, नेपालगंजबाट ८ जना, सर्लाहीबाट १३ जना, जनकपुरबाट २१ जना, वीरगन्जबाट १० जना, विराटनगरबाट ५१ जना, सुर्खेतबाट ३ जना र धनगढीबाट ८ जना सडक मानवको उद्दार भएको छ । उद्दार भएकामा २ जनाको परिवारिक पुनर्मिलान गरिएको संयोजक पौडेलले बताउनुभयो ।

नेपालमा बागमती प्रदेशमा ६ वटा, गण्डकी प्रदेशमा ५ वटा, लुम्बिनी प्रदेशमा ४ वटा, मधेश प्रदेशमा ३ वटा, कोशी प्रदेशमा एक कर्णाली, प्रदेशमा एक र सुदुरपश्चिम प्रदेशमा १ वटा गरी २१ ठाउँमा मानवसेवा आश्रम रहेको छ । वि.सं २०७७ सालदेखि नै उद्दार अभियान सुरु गरेको र अहिलेसम्म निरन्तरता दिँदै आइरहेको प्रदेश संयोजक पौडेलले जानकारी दिनुभएको छ । दशैँ तिहारलगायतको पर्वहरुमा कुनै पनि मानिसले सडकमा जीवनयापन गर्न नपरोस् भन्ने उद्देश्यका साथ देशव्यापीरुपमा अभियान चलाइएको उहाँको भनाइ छ । अभियानका क्रममा भेटिएका सडकमा जीवनयापन गरिरहेका सहयोगापेक्षी मानवहरुको उद्दार गरिएको उहाँले जानकारी दिनुभयो । मेची–महाकाली अभियानले सडकमा बस्ने मानिसहरुको जीवन रक्षामा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

Exit mobile version