हेटौँडा उपमहानगरका विद्यालयहरु आज सोमबारदेखि खुल्दैछन् । करिब डेढ महिनापछि विद्यार्थी विद्यालय फर्कँदै छन् । दसैंअघि विद्यालय विदा भएसँगै घरमा रहेका बालबालिका आजदेखि विद्यालय फर्कन लागेका हुन् । हेटौँडा उपमहानगरका अधिकांश विद्यालयले दसैं र तिहारको बीचमा पूर्णतः विद्यालय बन्द राखेका थिए । दसैं र तिहारको बीचमा केही विद्यालयले मावि तहका कक्षा सञ्चालन गरेका थिए भने नगन्य विद्यालयले मात्रै पूरा पठनपाठन जारी राखेका थिए ।
लामो विदामा घरमै रहेका विद्यार्थीलाई आज विद्यालयमा भव्य स्वागत होस् । सामान्यतः बालबालिका विद्यालय जान रुचाउँदैनन् । बालबालिका विद्यालय जान नरुचाउनुलाई आम अभिभावक, शिक्षकले पढ्न, सिक्न जाँगर नभएर, गाह्रो भएर भन्ने अड्कलबाजी गर्छन् । तर, खासमा बालबालिका विद्यालय जान नरुचाउनु भनेको विद्यालयको वातावरण विद्यार्थीमैत्री नभएर हो । आजको समयमा पनि बालबालिकाका लागि आकर्षणको केन्द्रको रुपमा विद्यालयलाई स्थापित गर्न नसक्नु नेपाली समाजको कमजोर पक्ष हो । हेटौँडा उपमहानगरपालिकासँगै मकवानपुर जिल्लाकै कुरा गर्ने हो भने केही नगन्य विद्यालय बाहेक आम विद्यालयमा विद्यार्थी रहरले भन्दा करले पुगिरहेका छन् ।
विद्यार्थीलाई रहर लाग्दो, सिकौं–सिकौं, पढौं–पढौं लाग्ने वातावरण बनाउनेतर्फ आवश्यक मिहिनेत विद्यालयले गर्न सकेको छैन । विद्यालयका प्रधानाध्यापकको कुशलता भएका केही विद्यालयमा आशलाग्दो प्रयास भएकै छन् । हाम्रा विद्यालयका शैक्षिक क्रियाकलापको समीक्षा गरेर सुधारको प्रयास समेत नहुनु अझ गम्भीर विषय हो । यस्तो सन्दर्भमा यो लामो विषपछि विद्यालय आउने बालबालिकालाई हार्दिकताका साथ भव्य स्वागत गरेर उनीहरुलाई पढौं, सिकौं भनी प्रेरित गर्न शिक्षकहरुले सकारात्मक प्रयास गर्नु आवश्यक छ ।
लामो अवधिको विदापछि बालबालिका विद्यालय आउँदै गर्दा पाठ्यक्रमका कक्षाकार्य र गृहकार्यमा सहभागी हुन उनीहरु रुचाउँदैनन् । यस वर्ष धेरै बालबालिकाले परिवारसँग घुम्ने अवसर पाएका छन् । परिवारसँग घुम्ने अवसर पाएका विद्यार्थीलाई भ्रमणबारे छलफल गर्ने, भ्रमण नगएका बालबालिकासँग चाडपर्वका क्रियाकलापका बारेमा छलफल गरेर यस्ता क्रियाकलापबाट सिक्न सकिने, बुझ्न सकिने विषयमा छलफल गरेर उनीहरुलाई विद्यालयमा पुनस्र्थापित हुन सहज वातावरण तयार पारिनुपर्छ । कतिपय बालबालिका चाडपर्वको समयमा दुखी भएका पनि हुन सक्छन् । अभिभावकले आफ्ना अपेक्षा पूरा नगरिदिएका, साथीहरु घुमेको देखेका तर, आफू घुम्न नपाउँदा दुखी मन लिएर पनि विद्यालय आउने अवस्था रहन्छ । त्यस्ता विद्यार्थीलाई पनि ढाडस दिएर साथीका भ्रमणका अनुभवबाट केही सिक्न, बुझ्न प्रेरित गर्नुपर्छ ।
पर्व विदाको समयमा कतिपय विद्यालयले विद्यालय भवन रंग्याउने, पर्खाल मर्मत गर्ने, बगैँचा व्यवस्थापनका काम पनि गरेका होलान् । यस्ता सकारात्मक कामबाट विद्यार्थीलाई केही उर्जा पक्कै हुन्छ । शिक्षकले पनि आफ्ना अनुभव सुनाएर, बुझाएर पर्व विदापछि आउने विद्यार्थीलाई पढ्न, सिक्न, बुझ्न प्रेरित गर्ने वातावरण बनाउन अनुरोध गर्दछौं ।