सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गरी छलफल भईरहेको छ । सरकारका तर्फबाट धेरै राम्रा योजना भएको दावी हुने गर्दछ भने विपक्षी दलहरुले अपुग भएको भन्दै विरोध गर्ने प्रचलन छ । अझ यसपटक सरकारले कोरोना भाइरस विरुद्ध योजना र कार्यक्रम ल्याउनु पर्ने आवश्यकता हो । धेरै कुराहरु कोभिडसँग सम्बन्धित नभएका हैनन् । तर कोभिडबाट प्रत्यक्ष प्रभावित तल्लो तहका नागरिक लक्षित कुनै प्याकेज नआएको भन्दै विरोध भईरहेको छ । कतिपय कार्यक्रमलाई लिएर सरकार पक्षीय सांसदहरुले पनि बजेटको विरोध गरेका छन् । कुनै पनि बजेट र योजनाहरु सवै नागरिक आवश्यकता र चाहना पुरा गर्न सम्भव पनि हुँदैन । श्रोत र साधनको विश्लेषण गर्नु बजेटको विशेषता हो ।
जनताका सबै आवश्यकता बजेटले पुरा गरोस् भन्ने अपेक्षा हुन्छ । तर राज्यसँग भएको श्रोत र साधनको प्रयोग र परिचालनलाई पनि बिर्सन सकिँदैन । बजेटलाई लिएर राजनीति हुने गर्दछ । सत्तापक्षले आफु अनुकुल कार्यक्रमका लागि विनियोजन गर्दछ भने विपक्षीले त्यसको विरोध । बजेट आफैँमा राजनीतिक दस्तावेज हो । त्यसैले सबै सांसददेखि स्थानीय तहका प्रतिनिधि वा सर्वसाधारणले बजेटप्रति फरक दृष्टिकोण र मान्यता राख्दछन् । देशको अर्थतन्त्रका विषयमा अर्थ मन्त्रालयको नेतृत्वले जति अरुले बुझेका हुँदैनन् । त्यसैले उनीहरु बजेटका नकारात्मक विषयमा राजनीति गरिरहेका हुन्छन् । यस पटकको बजेटमा पनि यही मान्यता राखिरहेका छन् । यसो गरिरहँदा श्रोत र साधनको पनि मूल्यांकन गर्ने परिपाटीको विकास हुन आवश्यक छ ।
संघीय सरकारले आगामी वर्ष नागरिकले प्रत्यक्ष अनुभुति गर्ने गरी केही कार्यक्रम ल्याएको छ । त्यस मध्येको १० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निशुल्क हुने छ । अर्थमन्त्रीले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि पेश गर्नु भएको बजेटमा विजुलीका उपभोक्तालाई राहतको घोषणा गर्नु भएको हो । हुन त जनता कोभिडका कारण प्रत्येक छाक टार्ने समस्यामा छन् । यस विषयमा विशेष प्याकेटको पखाईमा थिए तर त्यस्तो योजना देखिएको छैन । जे भए पनि थोरै राहत स्वरुप देशभरका विद्युत उपभोक्ताहरुले मासिक १० युनिटसम्म निशुल्क उपभोग गर्न पाउने भएका छन् । यस्तो योजनाले सकेसम्म १० यूनिट खर्च गर्ने बानीको विकास हुने छ भने जसले १० यूनिट मात्र प्रयोग गर्थे उनीहरुलाई राहत पुगेको छ ।
विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्र अन्तर्गतका साढे १५ हजार उपभोक्ताहरुले राज्यले दिएको सुविधा उपभोग गर्ने देखिएको छ । नेपाल विद्युत प्राधिकरणको हेटौंडास्थित वितरण केन्द्रको पछिल्लो मिटर रिडिङ अनुसार १५ हजार ६ सय ७२ घरले १० युनिट भन्दा कम विद्युत खपत गर्ने गरेको पाइएको छ । यो संख्या कुल ग्राहकको २५ प्रतिशत हो । हेटौंडा वितरण केन्द्रको ६१ हजार २ सय १६ ग्राहक छन् । नेपाल विद्युत प्राधिकरणको हेटौंडा वितरण केन्द्रले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका, मनहरी, राक्सिराङ, मकवानपुरगढी, बकैया, बागमती गाउँपालिकाका सबै क्षेत्र र कैलाश गाउँपालिका तथा भीमफेदी गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत सेवा उपलब्ध गराएको छ । यसरी हेर्दा देशभर लाखौं ग्राहकले १० युनिट भन्दा कम विद्युत खपत गरिरहेका छन् । धेरै आवश्यकता बीच निशुल्क विद्युत उपभोग गरी नागरिकले प्रत्यक्ष लाभको अनुभूति गर्ने भएका छन् ।