हेटौंडाः युरिया मलको माग गर्दै हेटौंडा उपमहानगरपालिकाका किसानले आज सोमबार बिहान हेटौंडाको मुख्यचोक बुद्धचोकमा प्रदर्शन गरेका छन् । आज बिहान मल लिन हेटौंडा बजारको मल विक्री केन्द्रमा आएका किसानले मल नपाएपछि बजारको मुख्यचोक बुद्धचोकमा पुगेर प्रदर्शन गरेका हुन् । किसानले तत्काल पर्याप्त मल उपलब्ध गराउन माग गरेका छन् । किसानले सडकमै प्रदर्शन गरेपछि प्रहरीले किसानलाई सडकबाट हटाएका थिए ।
कृषि सामग्री कम्पनि लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत अनुदानको युरिया मल सहकारीमार्फत किसानलाई विक्री गर्दै आएको छ । सहकारी संस्थाले भने कृषि सामग्री कम्पनि लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले नै कम मल उपलब्ध गराएका कारण कृषकको आवश्यकताअनुसार मल वितरण गर्न नसकेको जनाएको छ । अहिले मकै बालीमा मल हाल्ने समय भएको छ ।
सयौं किसान मल पाउने आशामा मल विक्री केन्द्रमा पर्खिरहेका छन् । मल नपाएको भन्दै किसानहरु आक्रोशित छन् । हेटौंडा–११, नवलपुरकी एक किसानले हरेक वर्ष मल नपाउने समस्याले चिन्तित बनाएको बताउनुभयो ।