नेपाल कृषिप्रधान मुलुक हो । कृषिप्रधान मुलुक भएर पनि नेपालले मुलुकमा आवश्यक खाद्यान्न उत्पादन समेत गर्न सकेको छैन । करिब ६३ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको छ । नेपालको झण्डै ४१ प्रतिशत जनसंख्या दैनिक रुपमा चाहिने २२७९ क्यालोरीको लागि खाद्यान्न उपभोग गर्नबाट वञ्चित रहनु परेको अवस्था छ । खाद्य सुरक्षा वहुआयामिक अवधारणा हो । यसमा खाद्यान्न उत्पादन, वितरण, उपलब्धता, पहुँच एवम् उपयोगको ज्ञान लगायतका विषयहरु पर्दछन् । माथि उल्लेखित विषयवस्तु मध्ये कुनै एकको अभावमा खाद्य सुरक्षा भएको मान्न सकिँदैन ।

प्रत्येक वर्षको जुन ७ तारिखमा विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिन्छ । विश्वका लागि यो दोश्रो हो भने नेपालका लागि यो १२ औं दिवस हो । किसानको गोठदेखि उपभोक्ताको ओँठसम्म अथवा किसानको आलिदेखि उपभोक्ताको थालीसम्मका क्रियाशीलले मात्र खाद्य पदार्थमा स्वच्छता कायम हुन सक्छ । वर्षको खाद्य स्वच्छता दिवसको नारा ‘खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिबद्धता’ तय गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो दिवसलाई अगुवाई गरेर मनाउने गरेको छ । विश्व खाद्य दिवस, आज एउटा महत्वपूर्ण दिन । भरिएका भकारी, चामलका बोराहरु, चिउरा, गहुँ, कोदो अनि बार्दलीमा झुण्डाएका मकैका घोघाहरु यि अनि यस्ता धेरै अन्न र खाद्यान्नहरु नेपाली गाउँ–घरमा देख्न सकिन्छ ।
खाद्यान्नमा पहुँचले व्यक्तिको आवश्यकता अनुसारको पोषणयुक्त खाद्यान्न पहुँचलाई दर्साउँछ । खाद्यान्नमा भौतिक पहुँच मात्रै नभई उक्त खाद्यान्न किन्नका लागि क्रयशक्ति र बजार मूल्य बीच सन्तुलन पनि कायम हुनु पर्दछ । खाद्यान्नको उपलब्धता र पहुँच भएर पनि त्यसमा आवश्यक पोषणको मात्रा भएन वा खाना पकाउने र खाने ज्ञान भएन भने त्यसले खाद्य सुरक्षा कायम गर्न सक्दैन । यसका लागि असल खाद्य संस्कृतिको विकास हुनुपर्दछ । खाद्यान्नको पर्याप्त उपलब्धता भएर पनि यदि आम नागरिकको आर्थिक सामथ्र्यले उपभोग गर्न भ्याउँदैन भने त्यसलाई खाद्य सुरक्षा भएको मान्न सकिँदैन ।
दस वर्ष अगाडिको शहर तुलना गर्ने हो भने उव्जाउने हात भन्दा खाने मुख मात्र बढेका छन् । खाद्यान्न संकट व्यवस्थापनका लागि यो एउटा समस्या हो । अहिले नेपालमा सजिलै उत्पादन हुने गेडागुडी, मासु, तरकारी र फलफूल समेत आयातको सूचीमा छन् । हामी नेपालीहरु बढी सौखिन हुन थालेका छौँ । हामीलाई मिठो मसिनो र राम्रो चाहिएको छ । त्यसैले हामी बास्नादार मसिनो चामल खोज्छौँ । अनि प्रशोधित विविध जंकफुड खान्छौँ । खाद्य प्राविधिकले खेल्न सक्ने भुमिका भनेको स्वच्छ तथा सन्तुलित खाद्य बस्तु उत्पादन गर्दै देशलाई चाहिने खाद्यान्न सुरक्षाको सुनिश्चितताको लागि महत्वपूर्ण योगदान गर्नु हो ।
खाद्य विज्ञानका विद्यार्थी हुनाले हामीले सम्पूर्ण घरेलु र सामाजिक स्तरमा खानेकुरा बारे ज्ञान लिने र दिने जिम्मेवारी निभाउनु पर्छ । उपभोग गर्ने मिति हेरेर खाने कुरा खरिद गर्ने, बिग्रेको खानेकुरा नलिने, अनि सम्बन्धित निकायमा उजुरी गर्ने, उपभोक्ता ऐन अन्तर्गत पर्ने उपभोक्ता हक, अधिकारको चेतना लिने दिने जस्ता सामान्य भन्दा सामान्य कुराको जानकारी आम जनता माझ हामीले पुर्याउन पर्छ । यस्ता समस्याहरु हाम्रो देशमा विद्यमान नै छन् तसर्थ यसलाई निर्मूल पार्ने हामी खाद्य विज्ञानका विद्यार्थीहरूको नै काम हो ।
खाद्य स्वच्छता ठ्याक्कै बाली काटेको समयदेखि शुरू हुन्छ । बाली भित्र्याउने, भण्डारण गर्ने, ट्रान्सपोर्ट गर्ने, प्रशोधन गर्ने, पुनः भण्डारण गर्ने, अनुगमन गर्ने, र अन्तिममा ग्राहक भएर खरिद गर्ने, उपयोग गर्ने र पुनः घरमा भण्डारण गर्ने । यी सम्पूर्ण कुरा खाद्य स्वच्छता अन्तर्गत नै पर्छ । त्यसैले हामी खाद्य विज्ञानका विद्यार्थीले यस कार्य गर्दा ध्यान दिनुपर्ने कुराहरुको आम जनतालाई चेतना दिनु पर्दछ । उद्योगमा काम गर्दा हामीले बढी भन्दा बढी सुरक्षा अपनाएर आम नागरिकलाई राम्रो र स्वस्थ खाद्य पदार्थ पुराउनू पर्दछ ।
(लेखक नेशनल कलेज अफ फुड साइन्स एण्ड टेक्नोलोजीमा ‘खाद्य प्रविधि विषय’ मा स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।)