राष्ट्रिय कृषिगणना २०७८ प्रदेशस्तरीय नतिजा सार्वजनिक गरिदैको ।

हेटौँडाः राष्ट्रिय कृषि गणना २०७८ को प्रदेशस्तरीय नतिजा सार्वजनिक गरिएको छ । सोमबार हेटौँडामा राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको हो । विगतको कृषि गणनाहरुमा जिल्लास्तरसम्मको कृषि तथ्याङ्क मात्र प्रकाशन हुँदै आएकोले यो पटक ७ सय ५३ वटै पालिकासम्मका कृषि तथ्याङ्क संकलन गरी प्रकाशन गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डिल्लीराज जोशीले जानकारी दिनुभएको छ ।

वैज्ञानिक विधिबाट तीन लाख ३० हजार १ सय १२ कृषक परिवारहरु छनौट गरी कृषक प्रश्नावली मार्फत कृषि तथा पशुपंक्षी सम्बन्धी विस्तृत विवरण संकलनका लागि ५ हजार १ सय ५० गणना, १ हजार ३ सय ५० सुपरिवेक्षक तथा ७७ कृषि गणना अधिकृतहरुसहित करिब ७ हजार २ सय कर्मचारी प्रत्यक्ष र परोक्षरुपमा परिचालित भएको तथ्यांक अधिकृत जोशीले बताउनुभयो । कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लख ३० हजार ७ सय ८९ कृषक परिवारले २२ लाख १८ हजार ४ सय ५० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ ।

कृषिगणनाअनुसार वागमती प्रदेशमा छ लाख ६८ हजार १७७ कृषक परिवारले दुई लाख ८२ हजार २९२ हेक्टर र मकवानपुर जिल्ला ६७ हजार ५२३ कृषक परिवारले २८ हजार २०८ हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषिगणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो । बागमती प्रदेशमा ४२.५ प्रतिशत र मकवानपुर जिल्ला ६३.८ प्रतिशत कृषक परिवार रहेको यो गणनाले देखिएको छ ।

कृषिगणनाले वागमती प्रदेशको सन्दर्भमा जम्मा कित्ता संख्या १७ लाख २८ हजार ४९८ र प्रतिकृषक परिवार कित्ता संख्या २.६ रहेको देखाएको छ भने मकवानपुर जिल्लामा यो संख्या क्रमशः एक लाख २१ हजार ४३७ र १.८ पाइएको छ । नेपालमा कूल सिंचित क्षेत्रफल ५४.५ प्रतिशत देखिएको छ भने बागमती प्रदेश र मकवानपुर जिल्लामा यो प्रतिशत क्रमशः ३६.८ र २८.२ रहेको देखिएको छ ।

कृषि गणनाबाट प्राप्त नतिजाले नेपालमा ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरी खान पुग्ने बताएका छन् भने अघिल्लो कृषिगणना २०६८ मा यसरी उल्लेख गर्ने कृषक परिवार ४० प्रतिशत थिए । बागमती प्रदेश र मकवानपुर जिल्लामा कृषिकार्यबाट भएको आम्दानीले वर्षभरी खान पुग्ने बताउने कृषकको प्रतिशत क्रमशः ४४.१ र ५६.६ रहेको देखिएको जसमा कृषक परिवारमध्ये नेपालमा २६ प्रतिशत परिवारले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेको बताइएको छ ।

नेपालमा १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३ लाख ५३ हजार ८ सय ५७ बाट बढेर ३४ लाख ५ हजार १४ पुगेको र गाईगोरुको संख्या करिव ४६ लाख, राँगाभैंसीको संख्या करिव २९ लाख, बाख्रा, खसी÷बोका÷च्याङ्ग्राको संख्या करिव एक करोड ४२ लाख, सुँगुर, वंगुर, बँदेलको संख्या करिव १४ लाख, कुखुराको संख्या करिव चार करोड ५१ लाख पुगेको बताइएको छ ।

यस्तै वागमती प्रदेशमा गाईगोरुको संख्या करिव पाँच लाख ८५ हजार, राँगाभैंसीको संख्या करिव चार लाख ५४ हजार, बाख्रा, खसी, बोका, च्याङ्ग्राको संख्या करिव २९ लाख सात हजार, सुँगुर, वंगुर र बँदेलको संख्या करिव एक लाख २६ हजार, भेडाको संख्या करिव २३ हजार र कुखुराको संख्या करिव एक करोड ४९ लाख रहेको देखिएको छ भने यो संख्या मकवानपुर जिल्लामा क्रमशः ७३ हजार, ३० हजार, तीन लाख ८३ हजार, १० हजार, एक सय तीस र १० लाख ८० हजार रहेको देखिएको छ ।

कृषिगणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यका लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषिगणना २०७८ ले यो संख्या झण्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको छ । सन्दर्भ अवधिमा ४ लाख ७१ हजार २ सय ६० कृषक परिवारले कृषिकार्यका लागि पावरट्रिलर प्रयोग गरेको र एक लाख १७ हजार नौं सय ९१ वटा पावरट्रिलर सञ्चालनमा रहेको र यी दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको संख्यामा उल्लेखीय रुपमा गिरावट आएर ८ लाख ५६ हजार २ सय ८३ बाट ५ लाख ९ हजार ८ सय २५ वटा हुन पुगेको देखिएको छ ।

कृषिगणना २०७८ अनुसार चार लाख ८३ हजार दुई सय आठ (११.७ प्रतिशत) कृषक परिवारले कृषि प्रयोजनका लागि ऋण लिएको बताएका छन् भने २०६८ को गणनामा यसप्रकारको ऋण लिएको भनी उल्लेख गर्ने कृषक परिवारहरु आठ लाख ३५ हजार नौं सय २१ (२१.८ प्रतिशत) रहेको देखिएको थियो । यो गणनाले बागमती प्रदेश र मकवानपुर जिल्लामा कृषि ऋण लिएका कृषकको प्रतिशत क्रमशः १२.३ र १७.४ रहेको देखाएको छ ।