हेटौँडाः हेटौँडा–१३ पदमपोखरीमा जारी टोलस्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा अदम्बर टोल विकास विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार ठुलोथली मैदानमा भएको खेलमा अदम्बर टोल विकासले पवित्र टोल विकासलाई ३–० गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
अदम्बरको तर्फबाट रमेश मोक्तानले पहिलो हाफको १० औँ मिनेटमा र सुधेश नेगीले २० औँ मिनेटमा समान १–१ गोल गरे । दोस्रो हाफको ४९ औँ मिनेटमा बिजेश तितुङले निर्णायक गोल गरे । म्यान अफ द म्याच विजेश तितुङ घोषित भए । यस्तै सोमबार भएको दोस्रो खेलमा नमोबुद्ध टोल विकास विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नमोबुद्ध टोल विकास ए ले सक्रिय टोल विकास ए लाई टाइब्रेकरमा ७–६ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरीमा रोकिएर खेल टाइब्रेकरमा पुगेको थियो । म्यान अफ द म्याच गोल रक्षक आकाश थिङ घोषित भए ।
प्रतियोगितामा २२ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल कार्तिक २६ गते हुनेछ । प्रतियोगितामा करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।