यस वर्षको वडा दसैं सकिएको छ । शनिबार कोजाग्रत पूर्णिमासँगै यस वर्षको दसैं सकिएको हो । वडा दसैं नेपाली समाजको प्रमुख पर्व पनि हो । नेपाली समाजको धार्मिक सहिष्णुता, साँस्कृतिक विविधताभित्रको एकताका कारण फरक जाति, धर्मबीच पनि आपसी समझदारी र ऐक्यवद्धता सराहनीय छ । एक महिनाअघि मात्रै पश्चिम नेपालमा जातीय द्वन्द्व चर्काउने प्रयासलाई विफल पार्दै हिन्दु धर्मावलम्बीहरुको पर्व दसैंमा मुस्मिल समुदायले पनि हर्षोल्लासका साथ टिका र जमरा लगाएका छन् । नेपालका हिन्दु समुदायले मुस्लिम समुदायको इदमा पनि मस्जिदमा गएर शुभकामना आदानप्रदान गर्ने गरेका छन् ।
दसैं प्रमुख पर्व भएका कारण उल्लास मनाउन जति सहज छ त्यत्तिनै कठिन यसको सामना गर्न पनि छ । पछिल्लो आर्थिक संकटका कारण दसैंलाई सहजै सबैले पार लगाउन सकेका छैनन् । यद्यपि दसैंको अवधि पूरा हुनु नियमित र स्वभाविक प्रक्रिया पनि हो । अब भने दसैं र पछिल्लो समस्या, प्रवृत्ति र समस्याहरुको समीक्षा गर्दै आगामी दिनको उपयुक्त योजना बनाउनेतर्फ सबैले ध्यान दिनु जरुरी छ । मुलुकको संकटका बारेमा कोही अन्जान छैनन् । तर, मुलुकको संकट सामना गर्न सबैले आआफ्नो तर्फबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नेतर्फ सतर्कता अपनाउन भने गम्भीर हुनैपर्छ । यो मेरो जिम्मेवारी होइन, मेरो दोष छैन, मैले के नै लाभ लिएँ र हानीको जोखिममा ध्यान दिनु जस्ता कुतर्क गर्ने र गैरजिम्मेवार हुने हो भने यो संकटले निम्त्याउने जोखिमबाट बच्न कठिन छ ।
यस वर्षको दसैंमा अधिकांशले आफ्नो पूर्ण परिवारमा दसैं मनाउन पाएनन् । सुख या दुखले विदेशमा रहेका आफ्ना परिवारका सदस्यका कारण दसैं खल्लो महसुस गरेका छन् । आफ्ना परिवारजन खाडीमा हुनेले आफ्ना दुख पोख्ने आँट गरेनन् होला भने युरोप र अमेरिकामा आफन्त हुनेले आफ्नो दुख पोख्न लाज भयो होला । तर, यहीँ आफ्नो क्षमता, दक्षता र पौरख देखाएर बाँच्न र बचाउन सक्ने जो कसैले आफ्नो व्यक्तिगत र पारिवारिक लाभको लोभले, बाध्यताले बिदेशिने सोँच बनाउँदै गर्दा देश भने निर्जन हुने हो कि भन्ने त्रास आमरुपमा बढ्दो क्रममा छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी, रसिया–युक्रेन युद्ध र पछिल्लो इजरायल–हमास युद्धले हाम्रो बाध्यता, रहर, गैरजिम्मेवारीपनालाई अझ संकटको दिशामा उन्मुख गराएको छ । समग्रमा राजनीतिक नेतृत्व र राज्य व्यवस्थाका कमजोरीप्रति आरोप लगाउने अवसर रहे पनि अन्ततः समग्र मुलुकको संकटको भागिदारी हरेक नागरिक हुनुको विकल्प हुन्न । लाभका लागि हरेक दुरुपयोगलाई स्वभाविक ठान्ने र दायित्व र जिम्मेवारीलाई बोझ ठान्ने नेपाली मनोवृत्तिले नेपाली समाजलाई आजको अवस्थामा ल्याउन राजनीतिक नेतृत्वको गैरजिम्मेवारीपना सहयोगी सावित भएको छ ।
अब भने इमानदार भएर सघन आत्मसमीक्षा जरुरी छ । यो वडा दसैंको समाप्तीसँगै इमानदार भएर आआफ्नो जिम्मेवारी बोध गर्ने, गैरजिम्मेवार भूमिकाको समीक्षा गर्दै सच्चिने प्रयास गर्दै असल प्रणालीलाई स्थापित गर्न हरेक नागरिक अग्रसर हुनु जरुरी छ । जसले २०८० को दशकलाई नेपाली समाजको सुधारको दशकको रुपमा आत्मसात गर्दै सम्भावनाको दशकको रुपमा स्थापित गर्न सफल हुनु जरुरी छ । संसारले तीव्र प्रगतिको बाटोमा अगाडि बढिरहँदा हामी हाम्रो समाजको सुधारको संकेतलाई मात्रै भने पनि यो दशकमा स्थापित गर्न सक्यौं भने केही उपलब्धी हासिल गर्ने अवस्था रहन्थ्यो कि । तसर्थ यो असत्यमाथि सत्यको जीतको पर्वको रुपमा दसैंलाई विदाई गर्दै गर्दा वर्तमान परिस्थितिको सघन समीक्षा गरेर आगामी दिनलाई सार्थक तुल्याउन तपाइँ, हामी सबै जिम्मेवार बनौं ।