विश्वमा कोरोना भाइरस (कोभिड–१९) का कारण मानिसको मृत्यु हुनेको संख्या चार लाख नजिक पुगेको छ । दक्षिण एशियाली देशहरुमा पनि भुटान बाहेक सवै देशमा नागरिकको मृत्यु भएको छ । संख्याका दृष्टिकोणबाट नेपाल धेरै सुरक्षित भएको छ । यस्तै संक्रमितहरुको संख्यामा पनि नेपाल हालसम्म खराब अवस्थामा छैन । विश्वका धेरै देशसँग तुलना गर्दा नेपाल कोरोनाबाट हालसम्म सुरक्षित राष्ट्रमा पर्दछ । तर जोखिमको दृष्टिकोणबाट नेपाल पनि सुरक्षित नभएको विश्व स्वास्थ्य संगठनले नै बताउँदै आएको छ । यो वास्तविकतालाई विशेष ध्यान दिएर नेपाल लामो समयदेखि लकडाउनमा छ । आम नागरिकले पनि सरकारको निर्देशनलाई अवज्ञा गरेको अवस्था छैन । तर बन्दाबन्दी भएको लामो समयपछि मात्र नेपालमा संक्रमण बढ्दै गएको छ । यसको अर्थ लकडाउनले मात्र संक्रमण रोकिने वा फैलने होर्ईन रहेछ ।

कोभिड–१९ जस्तो महामारीबाट नागरिकलाई जोगाउन अपनाउनु पर्ने सुरक्षा प्रवन्धको जिम्मेवारी राज्यको हो । त्यसका लागि संक्रमण फैलिएको देश वा स्थानबाट नेपाल आएकाहरुलाई अलग्गै राख्ने प्रबन्ध सरकारले मिलाउनु पर्ने थियो । तर लकडाउनपछि सरकारले जिम्मेवारी पुरा भएको अनुभूति गरेको छ । त्यसैले नेपाल प्रवेश गरेकाहरु बिना परिक्षण घर पुगेपछि यतिबेला संक्रमण बढेको यथार्थ हो । संक्रमण बढ्न थालेपछि भने सरकारले जेजस्तो भए पनि क्वारेन्टीनमा राख्न थालेको छ । सवारी साधन मार्फत आवत जावत नभएको, उद्योग, कलकारखाना, व्यापार व्यवसाय सबै बन्द गराएपछि कोरोना भाइरसबाट बचियो भन्ने मानसिकताले तयारी नगर्दा नेपालमा संक्रमणको दर बढ्दै गएको छ ।

पछिल्लो समय नेपाल भित्रिएकाहरुलाई क्वारेन्टाईनमा राखिएको छ । तर वेथितीपूर्ण तिनै क्वारेन्टाईन संक्रमणको केन्द्र बन्ने खतरा विज्ञहरुले औँल्याईरहेका छन् । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार त के नेपाली समाज सुहाउँदो गोठ समेत नभएको क्वारेन्टाईनमा रहेकाहरु बाटै एक अर्कोमा संक्रमणको जोखिम छ । क्वारेन्टाईनमा राख्दैमा पनि हुँदैन, उनीहरुको परिक्षण समयमै गर्न नसक्दा त्यही मृत्युवरण गरिरहेका छन् । यसरी क्वारेन्टाईनमै परिक्षण तथा उपचारको अभावमा मृत्यु हुनु सामान्य घटनाका रुपमा मात्र लिनु भुल हुने छ । कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणमा सरकार असफल सावित हुँदै गएको छ । स्वास्थ्य सेवा, एम्बुलेन्स, शौचालय तथा खानेपानीको उचित प्रबन्धसहितका क्वारेन्टाईन भईदिएका भए न त संक्रमण नै फैलिने थियो न उपचारको अभावमा त्यही नागरिकको मृत्यु हुने थियो ।

स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकका लागि आवश्यक सुरक्षा सामाग्रीको प्रबन्ध नहुँदा पनि परिक्षण गर्नेदेखि उपचारमा समस्या भएको छ । व्यवस्थापनका लागि सरकारलाई समय अपुग पटक्कै भएको हैन । बरु व्यवस्थापनमा चुस्तता नभएको वा कोभिडलाई सामान्य रुपमा लिएको देखिएको छ । कोरोनाका कारण मृत्य भएका मध्ये, धेरैको मृत्युपछि मात्र स्वाब परिक्षण भएको छ । एकजनाको त मृत्युको हप्ता दिनपछि रिपोर्ट आएको छ । यो अवस्थाले हाम्रो स्वास्थ्य सतर्कता र तयारी माथि गम्भीर प्रश्न उठाएको छ । तर यस्ता गम्भीर कमजोरी प्रति सरकारले कुनै दुख व्यक्त गरेको छैन । यसरी राज्यले तोकिदिएकै ठाउँमा गएर पनि परिक्षण तथा उपचार नपाएर नागरिकको मृत्युको जिम्मेवारी अब कस्ले लिने ?