सहयोग रकम हस्तान्तरण गरिँदै ।

हेटौंडाः गत जेठ १३ गतेको हावाहुरीका कारण ज्यान गुमाएका राक्सिराङ गाउँपालिकाका दुई जनाका परिवारलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका पार्टी सभापती ईन्द्रबहादुर बानियाँले बिहिबार आर्थिक सहयोग गर्नुभएको छ । यस्तै घाइते भएका २ जनाका परिवारलाई पनि नेता बानियाँले सहयोग गर्नुभएको छ ।

मृतकको परिवारलाई किरिया खर्च स्वरुप र घाइतेलाई उपचारमा सहयोग होस भनेर रकम उपलब्ध गराउनु भएको हो । मृत्यु हुने राक्सिराङ गाउँपालिका–५, चैनपुरकी ५५ वर्षीया वीरमाया प्रजा र राक्सिराङ गाउँपालिका–२, भाटिका आयुष मगरको परिवारलाई किरिया खर्च स्वरुप दश हजारका दरले र घाइते भएका राक्सिराङ गाउँपालिका–३ का २५ वर्षीय शम्भु सुनार र मनिकलाल बलको उपचारमा सहयोग होस भनेर पाँच हजारका दरले रकम उपलब्ध गराउनु भएको हो । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका सभापती वीरेन्द्र जिम्बाले हस्तान्तरण गर्नु भएको थियो ।

यस्तै गाउँपालिकाले पनि मृतकका परिवारलाई सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङ पीडित परिवारमै पुगेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकाले वीरमाया प्रजाको परिवारलाई ६ हजार र आयुष मगरको परिवारलाई १० हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराएको छ ।