छलफलमा सहभागी अण्डा उत्पादक संघका उपाध्यक्ष किरणभुषण ओली, अध्यक्ष शुकराम केसी, मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारी (बायाँबाट क्रमशः) ।

हेटौंडाः मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले स्थानीय प्रशासनसँगै कृषक पनि कुखुरा व्यवसायी संघको विरुद्धमा लागेको बताउनुभएको छ । लेयर्स कुखुराको अण्डा र ब्रोइलर कुखुराको मासुको मूल्यका विषयमा किसानसँग आज आयोजना गरिएको छलफलमा अध्यक्ष अधिकारीले संघले किसानको पक्षमा काम गर्दै आए पनि स्थानीय प्रशासन मात्रै नभई संघका सदस्य कुखुरापालक किसान नै संघको विरुद्धमा लागेको बताउनुभएको हो ।

कुखुरापालन व्यवसाय सञ्चालन गर्दै गर्दा ६ वर्षीय छोरालाई समेत ल्याप्चे गर्न लगाएर बैंकबाट ऋण लिएर दुख गरिरहँदा हाइलक्स चढेर हिँड्यो भन्दै कुरा गर्नेहरुले संघको विरोध गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । किसानको हितमा काम नगरेको भन्ने लागे ५१ प्रतिशत सदस्यले हस्ताक्षर गरेर ल्याए अध्यक्ष पद नै छाडिदिने चुनौति पनि अधिकारीले दिनुभयो । संघ नै विचौलियाको पक्षमा लागेको भन्ने जस्ता आरोप लागेको भन्दै अधिकारीले दुख व्यक्त गर्नुभयो । लकडाउनका बेला किसानको पक्षमा निरन्तर लागेको भन्दै अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष र उपाध्यक्षलाई अण्डाको मूल्यको वास्तविकता बताइदिन पनि उहाँले आग्रह गर्नुभयो ।

हेटौंडाको एक मासु पलसमा ९६० ग्राम तयारी मासु भएको ब्रोइलर कुखुरा ।

यता नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले भने किसानले मूल्य नपाउने तर किराना पसलेले अण्डामा बढी मूल्य लिने गरेको बताउनुभयो । अण्डा र कुखुराको मासुको मूल्य बढ्दा चिन्ता गर्नेहरुले भैंसीको मासुको मूल्य बढेकोप्रति भने ध्यान नदिएको उहाँको गुनासो थियो । लकडाउनको समयमा कुखुराको चल्लाको माग कम हुने अनुमान गरेर कतिपय ह्याचरीले चल्ला उत्पादन गर्ने अण्डा पनि विक्री गरेकोले मूल्य घटेको दावी गर्नुभयो । अण्डा उत्पादक संघको केन्द्रीय कार्यालय चितवनमै रहेको, चितवनका केही ठूला उत्पादकले बजारमा जथाभावी गरेका कारण लेयर्स कुखुराको अण्डाको मूल्यमा अस्वभाविक उतारचढाव आइरहने गरेको पनि उहाँले भनाइ थियो । उहाँले चितवनकै केही ठूला व्यवसायीको बद्मासीले कुखुराको अण्डाको बजार ध्वस्त भइरहेको दावी गर्नुभयो ।

अण्डा उत्पादक संघका उपाध्यक्ष किरणभुषण ओलीले भने दानाको मूल्य नघट्ने, अण्डाको मूल्य घट्ने अवस्थाका कारण किसान मर्कामा परेको भन्दै कुखुरापालक किसानलाई नै दाना उत्पादन गर्न सुझाव दिनुभयो । दाना उत्पादनमा ५५ प्रतिशत हिस्सा रहने मकैको प्रतिकेजी मूल्य ४५ रुपैयाँ हुँदा दानाको मूल्य प्रतिकेजी ५५ रुपैयाँ रहेको स्मरण गराउनुहुँदै उहाँले भन्नुभयो, ‘अहिले मकैको मूल्य प्रतिकेजी २० रुपैयाँ हुँदा पनि दानाको मूल्य भने प्रतिकेजी ३ रुपैयाँ मात्रै सस्तो भएकोले अब किसानले दाना उत्पादन गर्नुपर्छ ।’ प्रदेश सरकारसँग सहयोग लिएर किसानको एक समूहले आफैं दाना उत्पादन गर्न सके लाभ हुने उहाँको भनाई थियो ।

छलफलमा सहभागी किसानले भने बजार माग नघट्दा पनि मूल्य घट्ने अवस्था र लागत समेत नउठ्दा पनि किसानको पक्षमा संघले भूमिका निर्वाह गर्न नसकेको गुनासो गरेका थिए । लकडाउन यता मकवानपुरमा ब्रोइलर कुखुरा पाल्ने किसानले खोरमा चल्ला नै नहालेको र लेयर्स कुखुरापालक किसानले पनि चल्ला हाल्न छाडेको संघले जनाएको छ । किसान पलायत हुँदा संघले किसानलाई आश्वस्त पार्न नसकेको भन्दै सहभागीले संघकै भूमिका कमजोर भएको बताएका थिए । अहिले ब्रोइलर कुखुराको उत्पादन अत्यन्त कम भएका कारण व्यवसायीले एक केजी तौल भएका कुखुरा नै काटेर बेच्न थालेका छन् । किसानले ब्रोइलर कुखुरा प्रतिकेजी २ सय रुपैयाँ भन्दा बढीमा विक्री गरिरहेका छन् भने ब्रोइलर कुखुराको मासुको मूल्य पनि ४ सय रुपैयाँ भन्दा बढी छ । यस्तै किसानले लेयर्स कुखुराको अण्डा प्रतिक्रेट २५० रुपैयाँ पाइरहेका छन् भने उपभोक्ताले ३०० देखि ३५० रुपैयाँसम्म तिर्न बाध्य छन् ।