अहिले नेपाली गाउँ शहरमा चाडपर्वको रौनक सुरु भएको छ । अबको केही दिनमा नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं सुरु हुनेछ । १५ दिनसम्म मनाइने दशैंको समयमा मानिसको चहलपहल अन्य समयमा भन्दा बढी हुने गर्दछ । किनमेलका लागि बजार जाने, देशका विभिन्न भाग तथा विदेशमा रोजगारी, शिक्षा आर्जन, व्यापार–व्यवसाय आदिका लागि गएकाहरु घर फर्कने क्रम बढ्नेछ । दशैंमा लामो विदासमेत हुने भएकाले घुमफिरका लागि निस्कनेहरुको संख्या पनि उल्लेख्य हुने गरेको छ । यस्तै, आफन्त र मान्यजनकहाँ टीका लगाउन जानेहरुको आवतजावत पनि उत्तिकै हुने गर्दछ । यसरी दशैं, तिहारजस्ता प्रमुख चाडपर्वको समयमा मानिसको आवागमन र चहलपहल वृद्धि हुने भएपछि यही बेलामा आपराधिक घटना पनि बढी नै हुने गर्दछन् ।

दशैं नजिकिँदै गएपछि सम्भावित आपराधिक घटनालाई मध्यनजर गर्दै मकवानपुर प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्वको बेलामा बजारमा किनमेलका लागि आउने मानिसहरुका कारण भिडभाड हुँदा आपराधिक घटना बढी हुने गर्दछन् । गाउँबस्ती तथा शहर बजारमा चोरी, झगडा, लुटपाट, हत्याजस्ता आपराधिक क्रियाकलापका साथै सवारी दुर्घटनाहरु बढ्न सक्ने भएकाले प्रहरीले विगतका वर्षहरुमा जस्तै विशेष सुरक्षा योजना बनाएको छ । चाडपर्वको बेलामा सुरक्षा निकायलाई बढी सक्रिय र चनाखो बनाउँदै आवश्यक निगरानी तथा प्रहरी गस्ती वृद्धि गर्दै आपराधिक घटना न्यूनीकरणमा प्रहरीको ध्यान केन्द्रित हुने गरेको छ । विजयादशमीदेखि छठसम्मका लागि मकवानपुर प्रहरीले तयार गरेको चाडपर्वलक्षित सुरक्षा योजनामा ८ सय १७ जना प्रहरी परिचालन गर्ने बताइएको छ । चाडपर्वको समयमा हुनसक्ने आपराधिक घटना, राजमार्गमा हुनसक्ने लुटपाट, चोरी, डकैती, गुण्डागर्दी, सवारी दुर्घटना, झै–झगडालगायतका घटना हुन नदिन र शान्ति सुरक्षा कायम राख्न सुरक्षा योजना तयार गरेको बताइएको छ ।

प्रहरीले सुरक्षा क्षेत्रको कमाण्ड पोष्ट, विशेष टोली÷स्ट्राइकिङ, क्यूआरटी, सीमा नाका चेकजाँच, अस्पताल रेस्क्यु, ट्राफिकसहितको चेक पोइन्ट, मोबाइल गस्ती, साइकल÷पैदल गस्ती, पिकेट, राजमार्ग सवारी गस्तीका लागि प्रहरी जनशक्ति परिचालन गरेको छ । यस्तै, राजमार्गकेन्द्रित रात्रिकालीन बेस, नागरिक सहायता कक्ष÷रिफ्रेसमेन्ट सेन्टर, लामो दुरीको सवारी साधन चेकजाँच, सरकारी कार्यालय÷विशिष्ट व्यक्ति सुरक्षा, प्रहरी कार्यालय सुरक्षा, धार्मिक तथा पर्यटन सुरक्षा, बजार अनुगमनका लागि पनि प्रहरी खटाएको छ । प्रहरीले केही प्रहरीलाई रिजर्भमा राख्नुका साथै केहीलाई सादा पोसाकमा समेत परिचालन गरेको छ । चाडपर्वको समयमा आवतजावत गर्ने नागरिकको सुविधाका लागि प्रहरीले ४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ भने लामो दुरीको सवारी साधन चेकजाँच गर्न ४ स्थानमा क्याम्प राख्ने भएको छ ।

चाडपर्वको बेलामा अपराध, दुर्घटना र विभिन्न विकृतिहरु मौलाउने गरेका छन् । यस्ता गतिविधिले प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न चुनौती बढाउने गर्दछ । प्रहरीले चुनौतीको सामना गर्न प्रत्येक वर्ष सुरक्षा योजना कार्यान्वयनमा ल्याउने गरेको भए पनि पूर्ण प्रभावकारी बन्न सकेको पाइँदैन । प्रहरीले चाडपर्वको समयमा अपनाउनु पर्ने सुरक्षा सावधानी तथा विकृतिजन्य घटनाबारे सचेतना प्रदान गर्न सुरु गरिसकेको भए पनि चाडपर्व नजिकिँदै गर्दा त्यस्ता क्रियाकलाप मौलाउँदै जाने निश्चित छ । चाडबाडको बेलामा बजारमा उपभोक्ता तथा सेवाग्राही ठगिनुपर्ने बाध्यताप्रति प्रहरी प्रशासन गम्भीर हुनुपर्छ । बजारमा किनमेल गर्नेको घुइँचो बढ्दै जाँदा कालोबजारी गर्नेहरु सक्रिय बन्दछन् । सार्वजनिक सवारी प्रयोग गर्नेहरुले असुरक्षित यात्रासँगै बढि भाडा तिर्नुपर्ने हुन्छ । जुवातास र अत्यधिक मदिरा सेवनजस्ता विकृति पनि बढी नै हुन्छ । यसले झैझगडा तथा अन्य हिंसात्मक घटना निम्त्याउँछ । भिडभाडको मौकामा चोरी, डकैती गर्नेहरुले पनि मौका कुरेर बसिरहेका हुन्छन् । फुटपाथदेखि मलसम्मका व्यापारी बढी मूल्यमा कमसल सामान बिक्री गर्ने दाउमा रहेका हुन्छन् । यी सबै विकृति र आपराधिक घटना अनि दुर्घटना न्यूनीकरण गर्न प्रहरीले बनाएको विशेष सुरक्षा योजना प्रभावकारी बन्नु आवश्यक छ ।