जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि एम्बुलेन्स भित्र चिरमायाको शव ।

हेटौँडाः घुमुवा प्रहरीको अवरोधका कारण एक बिरामीको बाटोमै मृत्यु भएको घटनाको छानविन गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको छ । घटनाको सत्यतथ्य छानविन गर्न प्रहरी नायव उपरीक्षक भण्डारीको संयोजकत्वमा छानविन समिति गठन गरेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभएको छ ।

काठमाडौंमा उपचार सम्भव नभएपछि मकवानपुरको बकैया गाउँपालिका–१, धोवीडाँडाकी चिरमाया लोलाई घर लैजान लाग्दा हेटौँडामा आइतबार राती घुमुवा प्रहरी सहायक प्रहरी हबल्दार डिल्लीराम सिवाकोटीले अवरोध गरेका थिए । सादा पोशाकमा रहेका सिवाकोटीले प्रहरी हुँ भन्दै दुव्र्यवहार गर्नुका साथै हातपात समेत गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । हेटौँडा–४, रानीदरबारमा काठमाडौंबाट आएको सुमोलाई छाडेर बकैयातर्फ जान अर्को सुमोमा सामान सार्दै गर्दा सहायक प्रहरी हबल्दार सिवाकोटी पुगेका थिए ।

सिवाकोटीको अवरोध र केहीबेरको तनावपछि सुरक्षागस्तीमा हिँडेको प्रहरी टोलीले घटनालाई साम्य पार्नुका साथै चिरमाया र उनको परिवारलाई जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो । प्रहरीले रोकेकै कारण चिरमायाको सोमबार बिहान प्रहरी कार्यालय अगाडि एम्बुलेन्समै मृत्यु भयो । सहायक हबल्दार सिवाकोटीलाई उपचारका लागि चितवनबाट नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभएको छ । मृतक लोको शव परिवारले सोमबार बिहान बकैयास्थित घरमै पुर्याएका छन् भने मंगलबार अन्त्येष्टि गरिएको छ ।