हेटौंडाः प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक बागमती प्रदेश सभामा दर्ता भएको छ । आइतबार बसेको बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले प्रदेश सभामा विधेयक दर्ताको प्रस्ताव गर्नुभएको थियो ।

प्रदेशसभा बैठकमा दर्ता भएको विधेयकमाथि प्रदेश सभा सदस्यहरुले आइतबार नै प्रारम्भिक सुझाव राखेका छन् । प्रदेश सभा सदस्यले आइतबार विधेयकमाथि सैद्धान्तिक छलफल प्रस्तुत गरेका छन् । बागमती प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभाका ६ जना सांसदहरु सहभागी भएका थिए ।

प्रदेशसभा सदस्य सिर्जना साँयजु, मधुसुदन पौडेल, ठूला धामी, रमा आले मगर र सूर्यराज गोसाईंले छलफलको क्रममा प्रदेश सरकारले तामाङ भाषा र नेवार भाषा संरक्षण र सम्बद्र्धनका लागि ल्याएको विधेयक महत्वपूर्ण रहेको बताएका छन् । अन्य स्थानीय भाषाहरुको संरक्षणप्रति प्रदेश सभा सदस्यले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको अर्को बैठक आज सोमबार दिउँसो २ बजेका लागि तोकिएको छ ।