हेटौंडाः नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा मिस्टर मकवानपुर प्रतियोगिता सम्पन्न भएको छ । शनिबार हेटौंडा–२ स्थित पल्पसा हलमा भएको प्रतियोगिताको उपाधि सरुन परियारले जितेका छन् ।
परियारले ७० केजी तौल समूहबाट उपाधि हात पार्न सफल भएका हुन् । उपाधि विजेता बन्न सफल भएसँगै उनले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गरे । त्यस्तै ७५ केजी तौल समूहबाट राज शाही फस्ट रनरअप बनेका थिए । उनले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
६० केजी तौल समूहबाट विजेता बन्न सफल भएका सेकेण्ड रन।अप शैलेन्द्रकुमार शाहले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा ५५ केजी तौल समूहबाट युवराज छत्कुली, ६० केजी समूहबाट शैलेन्द्र कुमार, ६५ केजी समूहबाट इन्द्र कुमार, ७० केजी समुहबाट सरुन परियार र ७५ केजी समूहबाट राज शाहीले फाइनल खेलमा आफ्नो खेल प्रस्तुत गरेर विजेता बन्न सफल भएका थिए ।
तेस्रो मिस्टर मकवानपुर प्रतियोगितामा ४ जना महिला खेलाडीहरुको पनि सहभागिता रहेको थियो । सहभागी भएका महिलाहरुमध्ये अरिमा थिङ विजेता बन्न सफल भएकी हुन् । उनले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै द्वितीय शान्तामाया स्याङ्तान, तृतीय जुनी पुलामी मगर र चौथो कल्पनाकुमारी दर्लामी मगर भएकी हुन् ।
८ जना ४० वर्षदेखि माथि उमेर समूहका भेट्रान्स खेलाडीहरुको पनि सहभागिता रहेको प्रतियोगितामा प्रथम विमल लामा, द्वितीय बुद्ध लामा, तृतीय भुवनबहादुर तामाङ र चौथो विकास बानियाँ भएका छन् । बडी प्रस्तुत गर्ने वेस्ट क्लब कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालि घोषित गरी नगद २५ हजार रुपैयाँ प्रदान गरिएको थियो । यस्तै सिधाखबर डटकमका सम्पादक श्रीराम अर्जुन, हेडम्बा न्युजका सम्पादक सुवास विडारी र नेपाल कलमकी सञ्चालक तथा सम्पादक प्रतीक्षा न्यौपानेलाई पनि सम्मान गरिएको थियो ।
खेल क्षेत्रतर्फ भलिबल खेलाडी प्रहरी निरीक्षक चुडाकुमारी खड्का, हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशी, पुराना खेलाडीहरु शान्तकी खड्की, सूर्य लामा, राजकुमार श्रेष्ठ, महेश महर्जनलाई पनि सम्मान गरिएको थियो । नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ, वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपाने, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, कार्यालय प्रमुख माधव कोइरालालगायतको आतिथ्य रहेको थियो ।