हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा शनिबार ६६ जनाको आँखाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । ईन्द्रसरोवर गाउँपालिकामा ३ दिन भएको शिविरबाट मोतिविन्दु पहिचान भएका ६६ जनाको शनिबार शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मनुनाथ अधिकारीले जानकारी दिनुभयो ।
ईन्द्रसरोवर गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा भएको निःशुल्क शल्यक्रियामा ३५ पुरुष र ३१ महिलाको सहभागिता रहेको थियो । ईन्द्रसरोवर ग्रामीण आँखा केन्द्रमा १ महिला र १ पुरुष बाहेक अन्य सबै व्यक्तिको शल्यक्रिया भएको हो । दुई जनाको भने मधुमेहका कारण शल्यक्रिया गर्न नमिलेको उहाँले बताउनुभएको छ ।
अधिकारीका अनुसार गाउँपालिकाले ६० जनाको लक्ष्य बनाएको थियो । आँखा केन्द्रमा हेटौंडा सामुदायिक आँखा अस्पतालकी डा. एलिना गौतमका साथ ११ जनाको समूहले शल्यक्रिया गरेको अधिकारीले बताउनुभयो ।