पानी मानवसहित सम्पूर्ण जीवहरुको जीवनको आधार हो । जीवको श्रृष्टी र निरन्तरताका लागि पानी एक महत्वपूर्ण पदार्थ हो । कुनै पनि जीव पानीबिना बाँच्न सक्दैन । पानी दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन मिलेर बनेको यौगिक हो । शुद्ध पानीको कुनै रङ, गन्ध, स्वाद हुँदैन । पृथ्वीको झण्डै दुईतिहाई भाग पानीले ओगटेको छ । पानीलाई प्रकृतिका पञ्चतत्वमध्येको एक मानिन्छ । जमिन, जल, प्रकाश, हावा, आकाश यी सबै जीवनदायी पाँच पक्षको सन्तुलित समागम नै समग्र भौतिक वस्तुुहरुको जीवत्वको उत्थान, विकास र उत्कर्ष भएको मान्यता राखिन्छ । पानीमा शीतलता, तरलता, हलुकापन एवम् स्वच्छताजस्ता नैसर्गिक गुणहरु हुन्छन् । पानी पिउन, अन्नबाली उत्पादन गर्न, ऊर्जाको लागि र मानव विकासका काममा अपरिहार्य भएको छ । विश्वभर नै पानीका मूूल वा स्रोत सुक्दै गएका कारण भविष्यमा पानीको अभाव हुने सम्भावना भएकाले पानीको स्रोत संरक्षण र सदुपयोगप्रति विज्ञहरुले चासो र चिन्ता देखाउने गरेका छन् ।
मानवीय आधारभूत आवश्यकतामा पानीको स्थान महत्वपूर्ण छ । स्वच्छ, सफा र समुन्नत गाउँ/सहर हुनका लागि सहज र पर्याप्त पानीको उपलब्धतालाई प्रमुख मानक मान्ने गरिन्छ । विश्वका धेरै देशहरु र विभिन्न सहरमा पानीको सहज उपलब्धता पाइँदैन । नेपालमा पनि जनघनत्व बढी भएका कतिपय सहरहरुमा पर्याप्त खानेपानीको उपलब्धता नहुँदा शहरबासीको जीवनयापन सहज बन्न सकेको छैन । संघीय राजधानी काठमाडौं उपत्यकाका बासिन्दाले दशकौंदेखि स्वच्छ र सफा खानेपानीको अभाव बेहोर्दै आएका भए पनि बागमती प्रदेशको राजधानी हेटौंडामा भने अहिलेसम्म खानेपानी आपूर्तिको अवस्था सन्तोषजनक रहेको छ । झण्डै दुई लाख जनसंख्या रहेको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्ने आम नागरिकले खानेपानी सुविधा उपभोग गरिरहेका छन् । हेटौंडाको मुख्य बजार क्षेत्र र आसपासका क्षेत्रका बासिन्दाले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट वितरित खानेपानी उपभोग गरिरहेका छन् भने केही क्षेत्रमा स्थानीयस्तरका खानेपानी आयोजनाहरुमार्फत् खानेपानी आपूर्ति भइरहेको छ । उपभोक्ता समितिबाट व्यवस्थापन भइरहेको स्थानीय खानेपानी आयोजनाहरु पनि पछिल्लो समय बोर्डमा हस्तान्तरणको क्रम बढेको छ ।
तत्कालीन नेपाल खानेपानी संस्थानको हेटौंडा शाखालाई करिब एक दशकअघि हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको थियो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको सार्वजनिक संस्थानको रुपमा रहेको खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानी स्वायत्त बोर्ड गठन गरी बोर्डलाई हस्तान्तरण गरिएको हो । गत वर्षदेखि बोर्डमार्फत् खानेपानी उपभोग गर्दै आएका उपभोक्ताका लागि हेटौंडा उपमहानगरपालिकाले मासिक १० हजार लिटरसम्मको खानेपानी महसुल छुट दिने व्यवस्था गरेको छ । सोही व्यवस्थाबाट लाभ लिनका लागि स्थानीय उपभोक्ता समितिले सञ्चालन गर्दै आएको खानेपानी आयोजनाहरु बोर्डमा हस्तान्तरणको क्रम बढेको छ । बिहीबार पनि हेटौंडा–१८, बड्कुलेको मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई बोर्डमा हस्तान्तरण गरिएको छ । २०५८ सालबाट उपभोक्ता समितिमार्फत् सञ्चालित उक्त आयोजना बोर्डमा हस्तान्तरण भएपछि १०४ घरधुरीले १० हजार लिटर निःशुल्कका साथै पहिलाभन्दा निकै सहुलियत मूल्यमा पानीको उपभोग गर्न पाउने भएका छन् ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडामा खानेपानीको वर्तमान र भावी आवश्यकता पूरा गर्न आवश्यक कार्य गरिरहेको छ । बोर्डले अहिले २५ हजारभन्दा बढी धाराबाट दैनिक करिब दुई करोड लिटर खानेपानी वितरण गर्दै आएको छ । बोर्डले थप खानेपानी आपूर्तिका स्रोतको विकास तथा वितरण प्रणालीमा सुधार पनि गरिहेको छ । संघ, प्रदेश र स्थानीय सरकारको सहयोग तथा साझेदारीमा बोर्डले थुप्रै खानेपानीको स्रोतबाट खानेपानी आपूर्ति वृद्धि गर्दै लगेको छ । बोर्डले उपमहानगरको सबै क्षेत्रका बासिन्दालाई सहज र सुलभरुपमा खानेपानी उपलब्ध गराउन आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजानुपर्छ । प्रदेश राजधानी भएपछि हेटौंडा नगर क्षेत्रमा जनघनत्व वृद्धि हुँदै गएकाले भविष्यमा खानेपानीको माग अझै बढ्ने भएकाले पर्याप्त खानेपानी आपूर्तिका लागि उपयुक्त स्रोतको खोजी र खानेपानी वितरण प्रणालीको थप विस्तारमा बोर्डको ध्यान जानुपर्छ । खानेपानीको दीर्घकालीन माग पूरा गर्न ठूला खानेपानी आयोजना निर्माणतर्फ बोर्ड अग्रसर बन्नु आवश्यक छ ।