नवनियुक्त प्रधानाध्यापक कृष्ण पौडेल ।

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेमा रहेको कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापकमा कृष्णप्रसाद पौडेल नियुक्त हुनुभएको छ । गत शुक्रबार विद्यालय व्यवस्थापन समितिले सिफारिस गरेबमोजिम शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको निर्णयमा पौडेल प्रधानाध्यापकमा नियुक्त हुनुभएको हो ।

यसअघि प्रधानाध्यापक रहनुभएका कृष्णलाल श्रेष्ठले राजीनामा दिनुभएको नवनियुक्त प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो । आगामी असारबाट अनिवार्य अवकास हुनुहुने श्रेष्ठले २४ वर्ष विद्यालयमा प्रधानाध्यापकको भूमिका निर्वाह गर्नुभएको पौडेलले जानकारी दिनुभयो । ११ वर्षदेखि सोही विद्यालयमा अध्यापन गराउँदै आउनुभएका पौडेल माध्यमिक तहको अंग्रेजी विषय शिक्षक हुनुहुन्छ । पौडेल विगत १७ वर्षदेखि शिक्षण पेशामा हुनुहुन्छ ।

प्रधानाध्यापकमा नियुक्त हुनुभएपछि पौडेलले आगामी दिनमा शैक्षिक गुणस्तर, सिकाई उपलब्धि वृद्धि, विद्यार्थी टिकाउने योजनामा ध्यान केन्द्रित गर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समिति र पालिकासँगको समन्वयमा शिक्षक दरबन्दीका लागि पहल र छात्रवृत्ति प्रदान गरी विद्यार्थीलाई पठनपाठन गराउने उहाँले जानकारी दिनुभयो । विद्यालयमा हाल भवन र आर्थिक स्रोतको कमी रहेको उहाँको भनाइ छ ।

सरकारले निःशुल्क शिक्षा घोषणा गरेकाले विद्यालय बस सञ्चालनमा समस्या हुनसक्ने उहाँको भनाइ छ । अहिलेको समयमा विद्यार्थी संख्या बढाउनमा भन्दा पनि विद्यार्थी संख्या टिकाउनमा धेरै समस्या रहेको उहाँ बताउनुहुन्छ । विद्यालयबाट २०८२ सालको एसईईमा ३२ जना विद्यार्थी सहभागी भएका छन् । २०८१ सालमा ४७ जना एसईईमा सहभागी भएकोमा १७ जना विद्यार्थी ग्रेडेड भएका थिए । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयको कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापनका विषय अध्यापन हुने उहाँले बताउनुभएको छ । गत वर्ष ११ कक्षामा विद्यार्थी नै भर्ना नभएको उहाँले जानकारी दिनुभयो ।