हरेक वर्ष २७ सेप्टेम्बरका दिन ‘विश्व पर्यटन दिवस’ मनाइन्छ । नेपालमा पनि बुधबार विश्व पर्यटन दिवस मनाइएको छ । यस वर्ष ४४ औं पर्यटन दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको पहलमा सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर पर्यटन दिवस मनाउन थालिएको हो । नेपाल पर्यटकीय सम्भावना भएको देश हो । यहाँ पर्यटकलाई आकर्षित गर्ने प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक सम्पदाहरु प्रशस्त भए पनि त्यसको उचित प्रचारप्रसारहुन नसक्दा पर्यटनबाट खासै लाभ लिन सकिराखेको पाइँदैन । पर्यटकीय सम्भावना भएका क्षेत्रमा गुणस्तरीय पर्यटकीय पूर्वाधारको कमीले पनि पर्यटनको विकास हुन नसकेको हो । नेपाल आएका पर्यटकलाई देशका सबै पर्यटकीय क्षेत्रहरुमा नपु¥याएसम्म पर्यटनबाट फाइदा लिन सकिँदैन । सिमित संख्यामा आउने गरेका विदेशी पर्यटकहरु पनि काठमाडौं, पोखरा, चितवन र लुम्बिनीमै सिमित बनिरहँदा देशका अन्य भागमा पर्यटकीय गतिविधि बढ्न सकेको छैन ।

विश्वभर पर्यटन दिवस मनाइरहँदा नेपालले पनि आफ्नो पर्यटकीय क्षेत्रमा पर्यटन पूर्वाधारको विकास गरी फाइदा लिन सक्नुपर्छ । नेपालमा विश्वभरका पर्यटकलाई आकर्षण गर्ने पर्यटकीय स्थलहरुको समानुपातिक विकासका लागि तीनै तहका सरकारले ध्यान दिने हो भने धेरै पर्यटकलाई आकिर्षत गर्न सकिन्छ । मुलुकको आर्थिक समृद्धिको एउटा महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन उद्योगको विकासका लागि सरकार र सम्पूर्ण पर्यटन व्यवसायी एवम् संघसंस्थाको सामूहिक प्रयास आवश्यक हुन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलले नेपालमा पर्यटक आकर्षित गर्दछ । नेपालका प्राकृतिक सुन्दरता, जैविक विविधता, मौलिक संस्कृति, ऐतिहासिक सम्पदाका कारण पनि नेपालमा पर्यटन उद्योगको सहजै विकास गर्न सकिनेछ । साथै, विभिन्न साहसिक खेल तथा विश्वस्तरका दुर्लभ प्रतियोगिताहरुको आयोजनाबाट पनि नेपालमा पर्यटनको विकास गर्न सकिने सम्भावना उत्तिकै छ । नेपालमा रहेका दुर्लभ जीवजन्तु, सुन्दर हिमश्रृंखला, अनुपम पदयात्रामार्ग, विविध संस्कृति, चाडपर्व, रीतिरिवाज, धार्मिक तथा ऐतिहासिक सम्पदा आदिको संयोजनले नेपाललाई संसारकै उत्कृष्ट गन्तव्यस्थल बनाउन सकेमा पर्यटन दिवस मनाएको सार्थकता रहन्छ ।

नेपालका अन्य क्षेत्रहरुजस्तै मकवानपुर जिल्लामा पनि पर्यटकीय सम्भावना छ । तर, जिल्लाको पर्यटन प्रवद्र्धनका लागि कसैले पनि उल्लेख्य पहल गर्न सकेको छैन । पर्यटन दिवसको अवसरमा समेत उल्लेख्य गतिविधि हुने गरेको छैन । बागमती प्रदेशको राजधानी र संघीय राजधानीबाट नजिकै रहेको मकवानपुरमा थुप्रै ऐतिहासिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक सम्पदा छन् । जिल्लाको चित्लाङ, बज्रवाराही, मार्खु, टिष्टुङ, पालुङ, दामनलगायतका क्षेत्रमा प्राकृतिक, धार्मिक, ऐतिहासिक सम्पदाहरु रहेकाले पहिलादेखि नै राजधानी आसपासका स्वदेशी तथा केही विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ । मकवानपुर जिल्लाको भीमफेदी, चिसापानी गढी, मकवानपुर गढीजस्ता ऐतिहासिक धरोहरले पनि पर्यटक आकर्षित गर्ने सम्भावना उच्च छ । हेटौंडा आसपासमा पनि पर्यटकलाई एक–दुई दिन अल्मल्याउने स्थानहरु छन् । हेटौंडाको शहीद स्मारकले विभिन्न जिल्लाका आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेकै छ । हर्नामाडीस्थित गुम्बाडाँडा, जुरेथुम, मनकामना, पाथीभरा, कुष्माण्डधाम, भूटनदेवी आदि पनि पर्यटक जानसक्ने स्थान बनिरहेको छ । नेपालकै पहिलो सुरुङमार्ग, देशकै ठूलो औद्योगिक क्षेत्र, दक्षिण एसियाकै ठूलो वन विज्ञान संग्रहालय, चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जको प्रवेश विन्दुजस्ता विशेषताले हेटौंडा तथा मकवानपुरको पर्यटकीय सम्भावनालाई नकार्न सकिन्न ।

पर्यटनको विकासका लागि पर्यटकीय सम्भावनाका क्षेत्रहरुसम्म पर्यटकको सहज पहुँचको व्यवस्था हुनुपर्छ । सहज यातायात, होटल, लज तथा अन्य पर्यटकीय पूर्वाधारको राम्रो विकास भएमा सबैतिरका पर्यटकीय क्षेत्रमा पर्यटक जाने सम्भावना हुन्छ । पर्यटकलाई उचित सेवा सुविधाको प्रत्याभूत गरेर पर्याप्त प्रचारप्रसार गर्न सकेमा पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । वर्षको एक दिन पर्यटन दिवस मनाएरमात्र पर्यटन प्रवद्र्धन पक्कै हुँदैन । प्रत्येक स्थानीय सरकारले आ–आफ्नो क्षेत्रको पर्यटन विकासका लागि एकल वा संयुक्त प्रयत्न गर्न सकेमा पर्यटनको विकास सहज हुने र त्यसबाट स्थानीयले नै फाइदा लिनसक्नेतर्फ स्थानीय सरकारको ध्यान जानु आवश्यक छ ।