जोखिम न्यूनीकरणको महत्वपूर्ण माध्यम बन्दै गएको बीमा आवश्यकता बनेको छ । नेपाली समाजमा जीवन वा÷निर्जीवन दुवै बीमा गर्ने गराउने पद्दतीको विकास हुन थालेको छ । हुन त रकमको बचत वा निश्चित लाभांशको आशमा बीमा गर्नेहरु धेरै छन् । निर्जीवन बीमामा बढी जोखिम न्यूनीकरण हुँदै आएको पाईन्छ । जुन उद्देश्यबाट भए पनि समाजमा बीमा गर्नेहरुको संख्या दैनिक रुपमा बढेको छ । त्यस माथि स्वास्थ्य बीमाको कार्यक्रम गत दुई वर्षदेखि निक्कै उपयोगी हुँदै आएको छ । विशेषगरी न्यून आय भएका परिवारलाई यो बीमा उपचारमा वरदान नै भएको छ । तर न्यून आय भएका देशका सवै नागरिक यो बीमाको उपयोग गर्न सकिरहेका छैनन् । आज पनि धेरै नागरिक शुल्क बुझाउनै नसकेर स्वास्थ्य बीमामा समेटिनबाट बञ्चित छन् ।
हुन त सरकारले सवै नेपालीहरुलाई स्वास्थ्य बीमामा सहभागी गराउने नीति लिएको छ । प्रत्येक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा समावेश हुँदै आएको छ । प्रतिपरिवार ५० हजारसम्मको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने गरी सुरु भएको बीमा हाल एक लाख पुगेको छ । तीन हजार ५ सयमा परिवारको चार जनाले एक वर्षसम्म एक लाख रुपैयाँसम्मको उपचार गराउन पाउने व्यवस्था छ । यसैक्रममा हालै मात्र सरकारले कोभिड–१९ स्वास्थ्य बीमा कार्यक्रम सुरु गराएको छ । सोही अनुसार विभिन्न कम्पनिहरुले बीमालेख वितरण गरेका छन् । संक्रमण भए उपचारका लागि बीमा कम्पनि मार्फत रकम प्राप्त हुनेछ । त्यसैले पनि यतिबेला यो बीमा गराउनेहरुको संख्या बढ्ने क्रममा छ । तर न्यून आय भएकाहरु सहभागी हुन अझै सकिरहेका छैनन् ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएलगत्तै एक लाख रकम पाउने व्यवस्था गरिएको छ । यो व्यवस्थाले महामारीमा नागरिकहरु उपचारबाट बञ्चित हुनुपर्ने अवस्था छैन । एक लाख रुपैयाँ बराबरको बीमा गर्दा ६ सय रुपैयाँ बीमाशूल्क लाग्ने छ । बीमा शुल्क अति सामान्य नै हो तर दैनिक छाक टार्न मुस्किल हुनेहरुलाई भने ६ सय रुपैयाँ पनि महंगो हुन सक्छ । यस्ता वर्गका नागरिकहरुलाई कोभिड–१९ स्वास्थ्य बीमामा सहभागी गराउने वातावरण बनाउनु पर्दछ । यसका लागि राहतको प्याकेट दिई फोटो खिच्न रमाउने समाजसेवीहरुले समेत अभियानमा सहयोग गर्न सक्नु पर्दछ ।
बीमा गराउन सकेमा सामान्य आर्थिक अवस्था भएकलाई निकै सहज हुनेछ भने बीमाप्रति आकर्षण पनि बढ्ने देखिन्छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्ने क्रममा छ । यस महामारीबाट जो कोही पनि संक्रमित हुने सम्भावना भएकाले कोभिड–१९ स्वास्थ्य बीमामा आमनागरिकलाई सहभागी गराउन सक्ने हो भने उपचारका लागि राज्यदेखि नागरिक सवैलाई सहज हुनेछ । कुनै पनि कार्यक्रम ल्याउन जति सहज हुन्छ त्यसलाई लक्षित वर्गसम्म पु¥याउन धेरै चुनौती हुने गर्दछन् । तसर्थ नागरिक लक्षित यो कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन चुनौती पनि छन् । बीमाको आवश्यकता र औचित्यलाई तल्लो तहको नागरिकसम्म पु¥याउन सके कोभिड–१९ को बीमाबाट सबैले फाईदा लिन सक्ने देखिन्छ ।