हेटौंडाः हेटौंडा–८, कमानेमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । चालु वर्षमा ४० जनालाई रोजगारी दिएर कार्यक्रम सुरु गरिएको वडा सदस्य यशोधा उप्रेतीले जानकरी दिनुभयो । उहाँँका अनुसार ४० जनामा अधिकांश महिलाहरु कार्यरत छन् ।

आफ्नो वडामा महिलाहरु सक्रिय रहेको भन्दै उनीहरुलाई नाला बनाउने, सडक सफा गर्ने काममा लगाइने वडासदस्य उप्रेतीले बताउनुभयो । उनीहरुले भने अहिले चलिआएको दैनिक ज्याला अनुसार काम गरेको दिनको पारिश्रमिक पाउने छन् ।

अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम साथै राहत लिनेहरुले पनि काम गरिरहेको वडासदस्य उप्रेतीले बताउनुभयो । मुलुक लकडाउन भएसँगै दैनिक छाक टार्न समस्या भएका तथा राहत लिएकाहरुले काम गरेको उहाँले बताउनुभयो । अहिले १५० मिटर लामो नाला बनाउने काममा उनीहरुलाई लगाइएको र त्यसपछि अन्य सरसफाइका कामहरुमा पनि लगाउन सकिने वडासदस्य उप्रेतीले जानकारी दिनुभयो ।