हेटौंडाः हेटौंडा–६, चौघडास्थित वंशगोपाल माध्यमिक विद्यालयमा शिक्षकका लागि सूचना प्रविधिको प्रयोगसम्बन्धी तालिम सञ्चालन गरिएको छ । जेठ ७ गतेदेखि जेठ १३ गतेसम्म दैनिक एक घन्टा सञ्चालित तालिममा विद्यालयमा अध्यापनरत सम्पुर्ण शिक्षकहरुको सहभागिता रहेको थियो । तालिममा शिक्षकलाई दैनिक शिक्षणमा आवश्यक पर्ने प्रविधि सम्बन्धी जानकारी, पावर प्वाइन्ट तयारी, नवीनतम शिक्षण विधि लगायत विद्यार्थी केन्द्रित क्रियाकलापका बारेमा छलफल गरिएको थियो ।
अनलाइनमार्फत आयोजना गरिएको तालिममा गहन खतिवडा, माधव गौतम र सरोज लामिछानेले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले यस्ता तालिमले शिक्षकहरुलाई प्रविधिमैत्री बनाउनुको साथै पेशागत दक्षता बढाउन सहयोग गर्ने बताउनु भयो ।