हेटौंडाः पत्रकारमाथि दुव्र्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुरले ध्यानाकर्षण गराएको छ । शनिबार मकवानपुरको मनहरी गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा उपस्थित पत्रकारमाथि भएको दुव्र्यवहारप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
गाउँपालिका कार्यालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारमाथि दुव्र्यवहार भएको भन्दै महासंघले विज्ञप्ति निकालेर गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । स्थानीय सरकारजस्तो जिम्मेवार निकायले पत्रकार सम्मेलनमा पत्रकारहरुलाई निमन्त्रणा गरेर नियन्त्रणमा लिने, बन्धक बनाउने, बाहिरी मान्छेहरुलाई पत्रकार सम्मेलनस्थलमा प्रवेश गर्न लगाएर स्वतन्त्र प्रेसमाथि धावा बोल्नेलगायतका दुव्र्यवहार गर्नुले आम मकवानपुरे पत्रकारमा त्रासको अवस्था सिर्जना भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा पत्रकार असुरक्षित भएर पत्रकारहरुले नै प्रहरी र प्रशासनसँग सुरक्षा माग्नुपर्ने अवस्था सिर्जना हुनुभन्दा विडम्बना अरु के होला ? भन्दै ध्यानकर्षण भएको उल्लेख छ । कार्यालयले आफैं पत्रकार सम्मेलनमा बोलाएर पत्रकारमाथि दुव्र्यवहार गर्ने, मानसिक तनाव दिने र स्वतन्त्र प्रेसमाथि नै धावा बोल्ने काम गरेको विज्ञप्तिमार्फत् सरोकारवाला निकायलाई जानकारी गराइएको विज्ञप्तिमा भनिएको छ ।
मनहरी गाउँपालिकाले अनधिकृतरुपमा नदिजन्य पदार्थको राजश्व मिनाहा गरेको भनी सार्वजनिकरुपमा आलोचना भएपछि शनिबार गाउँपालिकाले पत्रकार सम्मेलन गरेको थियो।










