बागमती प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठ

हेटौंडाः बागमती प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले हेटौंडा–१ स्थित सञ्चो हस्पिटलमा भएको डाक्टर कुटपिट प्रकरणमा विशेष समिति बनाउनुपर्ने बताउनुभएको छ । शनिबार बागमती प्रदेशसभाको बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुुभएको हो ।

घटनाको प्रदेश सरकारले विशेष छानबिन समिति बनाएर निष्पक्ष छानविन गर्नुपर्ने उहाँले बताउनुभयो । साउन २४ गते डेङ्गु संक्रमणका कारण मृत्यु भएका हेटौंडा–१२ का राजेश प्रधानको उपचारमा त्रुुटी भएको भन्दै हस्पिटलमा बुझ्न जाँदा जवाफ नपाउँदा मृतक परिवारले आक्रोश व्यक्त गरेपछि घटना निम्तिन पुगेको उहाँको भनाई छ ।

अहिले डाक्टरहरुले आफ्नो सेवाबाट बिदा लिने र मकवानपुरबाट जाने कुरा गम्भीर रहेकाले प्रदेश सरकारले चाँडोभन्दा चाँडो छानविन समिति बनाएर अनुसन्धान गर्न उहाँले आग्रह गर्नुभयो । मकवानपुरमा विगत केही वर्ष अघिसम्म स्वास्थ्य क्षेत्रको अवस्था नाजुक रहेको अवस्थामा प्रदेश सरकारको चासो र योजनाको कारणले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएपछि स्वास्थ्य क्षेत्रमा सुधार आएको उहाँले बताउनुभयो । हेटौंडा हस्पिटलको स्तरोन्नति भएपछि हेटौंडाबासीमा स्वास्थ्यप्रति विश्वास बढेको उहाँको भनाइ छ ।

सत्तापक्षका सांसद प्रभात तामाङले बजेट अधिवेशनमा मुख्यमन्त्रीलगायत मन्त्रीहरुले साउन महिनामै प्रत्येक जिल्लामा सेवा केन्द्र खोल्छु भने पनि हुन नसकेको बताउनुभयो । उहाँले प्रदेश सरकार जनताप्रति उत्तरदायी बन्न नसकिरहेको बताउनुभयो । प्रदेश विकास कार्यक्रमका लागि छुट्याएको रकम के गर्ने भन्नेमा सरकारमा अन्यौलता रहेको उहाँको भनाइ छ । बजेटमा आएको कार्यक्रम कार्यान्वयन गर्न विधेयक आवश्यक नपर्ने र कार्यविधि बनाएर जानुपर्ने उहाँले बताउनुभयो ।