हेटौँडा–८, कमानेस्थित एकादशी राधाकृष्ण मन्दिरमा आजदेखि श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु हुँदैछ । चर्चित वाचिका राधिका दासीले कथावाचन गर्नुहुने महायज्ञबाट संकलन हुने सहयोग रकमबाट मन्दिरको स्तरोन्नति गर्नुका साथै विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने योजना आयोजकको छ । यसैसन्दर्भमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले मूल आयोजक समितिका संयोजक धर्मराज पुडासैनीसँग गर्नुभएको कुराकानीः
समाजः एकादशी राधाकृष्ण मन्दिरमा महायज्ञ लगाउँदै हुनुहुन्छ, यो महायज्ञ के उद्देश्यले लगाउँदै हुनुहुन्छ ?
पुडासैनीः मन्दिरको स्तरोन्नति र अक्षय कोषको स्थापनाका लागि महायज्ञ लगाउन लागिएको हो । ८ नम्बर वडा भनेको गरीबहरु र मजदुरहरुको वस्ती भएको वडा हो । ३५ लाख रुपैयाँभन्दा बढि उठ्यो भने त्यहाँका बालबालिकाहरुलाई छात्रवृत्ति दिएर पढाउनु पनि हाम्रो उद्देश्य रहेको छ ।
समाजः तपाईहरुले ३५ लाख रुपैयाँ उठ्ने लक्ष्य लिनुभएको कि ३५ लाखै रकम बचत गर्ने लक्ष्य लिनुभएको हो ?
पुडासैनीः हाम्रो लक्ष्य त ५० लाख रुपैयाँ उठाउने भन्ने छ । बचतचैं २५ लाखसम्म गर्ने भन्ने लक्ष्य लिएका छौं ।
समाजः तपाईहरुको सप्ताहमा वाचिकाकोरुपमा राधिका दासी आउँदै हुनुहुन्छ । महायज्ञका लागि कति खर्च लाग्ने अनुमान गर्नुभएको छ ?
पुडासैनीः हामीले चर्चित वाचिका राधिका दासीलाई निमन्त्रणा ग¥यौं । उहाँले हार्दिकताका साथ स्वीकार गरेर आउँदै हुनुहुन्छ । योे ८ नम्बर वडाको पहिचान रहने पनि हो । यहाँको आर्थिक अवस्थालाई मध्यनजर गरेर पनि सकेसम्म कमै खर्च गर्ने विचार गरेका छौं । त्यसो भए पनि खर्च करिब करिब १५ देखि २० लाख रुपैयाँसम्म हुने अनुमान गरेका छौं ।
समाजः अहिले आर्थिक मन्दीको समयमा तपाईहरुले ५० लाख रुपैयाँ जति उठाउने लक्ष्य लिनुभएको छ, यो कसरी सम्भव छ, कस्तो योजना बनाउनु भएको छ ?
पुडासैनीः आर्थिक समस्या त छ नै । तर जहाँ समस्या छ त्यहाँ समाधान हुन्छ । ८ नम्बर वडामा यो कार्यक्रम बृहत् बनाउनुपर्छ भनेर हाम्रो मूल समितिका सदस्यहरु खटिरहेका छन् । यस्तै त्यहाँका वडाबासीहरु पनि यो हाम्रो वडा हो, हामीले जसरी भएपनि सफल बनाउनुपर्छ भनेर उहाँहरु पनि लागीरहनुभएको छ । खटाइ मात्र होइन उहाँहरुको आफन्त, ईष्टमित्र, टोल छिमेकका साथीभाइहरुलाई आर्थिक जुटाउनका लागि सम्पूर्णलाई अनुरोध पनि गरिरहनु भएको छ । यो ८ नम्बरको राधाकृष्ण मन्दिर हाम्रो हो भन्ने भावनाका साथ यसलाई संरक्षण गर्नका लागि आर्थिक रुपमा विदेशमा रहेका साथीभाइहरुलाई सहयोग गर्नका लागि विभिन्न सामाजिक माध्यमहरुबाट कुराकानी भइरहेको छ । यस कारणले गर्दा हामीले यो कार्यक्रमको हाम्रो लक्ष्य ‘मिट’ गर्ने अठोट लिएका छौं ।
समाजः तपाईहरुले ३०/३५ लाख उठाउन नसके पनि न्युनतम कतिसम्म उठाउने लक्ष्यका साथ तयारी गर्दै हुनुहुन्छ ?
पुडासैनीः त्यति उठाउन नसक्ने भन्ने छैन । हामी ३५ लाख रुपैयाँ जसरी नी उठाउछौं भन्ने हाम्रो लक्ष्य रहेको छ । उठ्दैन भन्ने छैन, किनभने हामीले स्रोत पहिचान गरी कार्यक्रम अगाडि बढाएका छौँ ।