Home अन्तरवार्ता “विदेशमा रहेका साथीभाइहरुलाई सहयोग गर्न भनेका छौं”

“विदेशमा रहेका साथीभाइहरुलाई सहयोग गर्न भनेका छौं”

धर्मराज पुडासैनी मूल समारोह समिति संयोजक

हेटौँडा–८, कमानेस्थित एकादशी राधाकृष्ण मन्दिरमा आजदेखि श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु हुँदैछ । चर्चित वाचिका राधिका दासीले कथावाचन गर्नुहुने महायज्ञबाट संकलन हुने सहयोग रकमबाट मन्दिरको स्तरोन्नति गर्नुका साथै विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने योजना आयोजकको छ । यसैसन्दर्भमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले मूल आयोजक समितिका संयोजक धर्मराज पुडासैनीसँग गर्नुभएको कुराकानीः

समाजः एकादशी राधाकृष्ण मन्दिरमा महायज्ञ लगाउँदै हुनुहुन्छ, यो महायज्ञ के उद्देश्यले लगाउँदै हुनुहुन्छ ?
पुडासैनीः
मन्दिरको स्तरोन्नति र अक्षय कोषको स्थापनाका लागि महायज्ञ लगाउन लागिएको हो । ८ नम्बर वडा भनेको गरीबहरु र मजदुरहरुको वस्ती भएको वडा हो । ३५ लाख रुपैयाँभन्दा बढि उठ्यो भने त्यहाँका बालबालिकाहरुलाई छात्रवृत्ति दिएर पढाउनु पनि हाम्रो उद्देश्य रहेको छ ।

समाजः तपाईहरुले ३५ लाख रुपैयाँ उठ्ने लक्ष्य लिनुभएको कि ३५ लाखै रकम बचत गर्ने लक्ष्य लिनुभएको हो ?
पुडासैनीः
हाम्रो लक्ष्य त ५० लाख रुपैयाँ उठाउने भन्ने छ । बचतचैं २५ लाखसम्म गर्ने भन्ने लक्ष्य लिएका छौं ।

समाजः तपाईहरुको सप्ताहमा वाचिकाकोरुपमा राधिका दासी आउँदै हुनुहुन्छ । महायज्ञका लागि कति खर्च लाग्ने अनुमान गर्नुभएको छ ?
पुडासैनीः
हामीले चर्चित वाचिका राधिका दासीलाई निमन्त्रणा ग¥यौं । उहाँले हार्दिकताका साथ स्वीकार गरेर आउँदै हुनुहुन्छ । योे ८ नम्बर वडाको पहिचान रहने पनि हो । यहाँको आर्थिक अवस्थालाई मध्यनजर गरेर पनि सकेसम्म कमै खर्च गर्ने विचार गरेका छौं । त्यसो भए पनि खर्च करिब करिब १५ देखि २० लाख रुपैयाँसम्म हुने अनुमान गरेका छौं ।

समाजः अहिले आर्थिक मन्दीको समयमा तपाईहरुले ५० लाख रुपैयाँ जति उठाउने लक्ष्य लिनुभएको छ, यो कसरी सम्भव छ, कस्तो योजना बनाउनु भएको छ ?
पुडासैनीः
आर्थिक समस्या त छ नै । तर जहाँ समस्या छ त्यहाँ समाधान हुन्छ । ८ नम्बर वडामा यो कार्यक्रम बृहत् बनाउनुपर्छ भनेर हाम्रो मूल समितिका सदस्यहरु खटिरहेका छन् । यस्तै त्यहाँका वडाबासीहरु पनि यो हाम्रो वडा हो, हामीले जसरी भएपनि सफल बनाउनुपर्छ भनेर उहाँहरु पनि लागीरहनुभएको छ । खटाइ मात्र होइन उहाँहरुको आफन्त, ईष्टमित्र, टोल छिमेकका साथीभाइहरुलाई आर्थिक जुटाउनका लागि सम्पूर्णलाई अनुरोध पनि गरिरहनु भएको छ । यो ८ नम्बरको राधाकृष्ण मन्दिर हाम्रो हो भन्ने भावनाका साथ यसलाई संरक्षण गर्नका लागि आर्थिक रुपमा विदेशमा रहेका साथीभाइहरुलाई सहयोग गर्नका लागि विभिन्न सामाजिक माध्यमहरुबाट कुराकानी भइरहेको छ । यस कारणले गर्दा हामीले यो कार्यक्रमको हाम्रो लक्ष्य ‘मिट’ गर्ने अठोट लिएका छौं ।

समाजः तपाईहरुले ३०/३५ लाख उठाउन नसके पनि न्युनतम कतिसम्म उठाउने लक्ष्यका साथ तयारी गर्दै हुनुहुन्छ ?
पुडासैनीः
त्यति उठाउन नसक्ने भन्ने छैन । हामी ३५ लाख रुपैयाँ जसरी नी उठाउछौं भन्ने हाम्रो लक्ष्य रहेको छ । उठ्दैन भन्ने छैन, किनभने हामीले स्रोत पहिचान गरी कार्यक्रम अगाडि बढाएका छौँ ।

Exit mobile version