हेटौँडा : हेटौँडा–१५, रातोमाटेस्थित जनजागृति माध्यमिक विद्यालयको २६औं अभिभावक भेला बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सिंहबहादुर लोको अध्यक्षता तथा वडाध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो । भेलाले विद्यालय व्यवस्थापन समितिमा अभिभावकबाट ४ जना सर्वसम्मत चयन गरेको छ ।

अभिभावक भेलाबाट अभिभावकमध्येबाट सदस्यमा सम्झना पाख्रिन, मीना लामा मोक्तान, पूर्णिमा गुरुङ र लालबहादुर डिम्डुङ सर्वसम्मत चयन हुनुभएको छ । नवनिर्वाचित समितिको बैठक बिहिबार बसेर २ जना सदस्य मनोनित गरी विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिइने विद्यालयका प्रधानाध्यापक केशवप्रसाद सञ्जेलले जानकारी दिनुभयो । अभिभावक भेलाको अवसरमा वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको छ ।

अभिभावक भेलामा प्रधानाध्यापक सञ्जेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रधानाध्यापक सञ्जेलले विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा रहेको जानकारी गराउनुभयो । शैक्षिकसत्र २०८२ मा २ सय ६४ जना विद्यार्थी भर्ना भएकोमा वार्षिक परीक्षामा २ सय ५२ जना मात्रै सहभागी भएका प्रधानाध्यापक सञ्जेलले जानकारी दिनुभयो । शैक्षिकसत्र २०८३ मा विद्यार्थी संख्या घटेर २ सय १५ जनामा सीमित हुने अनुमान प्रधानाध्यापक सञ्जेलको छ ।

‘आयस्तर राम्रो भएका अभिभावकले निजी विद्यालयमा आफ्ना बालबालिकालाई बसमा चडाएर पठाउँछन्’, प्रधानाध्यापक सञ्जेलले भन्नुभयो, ‘न्यून आय भएकाहरु मात्रै यहाँ आउने हो । जन्मदर घट्दै जानु, आयस्तर राम्रा भएकाहरु निजी विद्यालयतर्फ आकर्षित हुनुले हाम्रो विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा छ ।’ यातायातको सुविधा दिन सके विद्यार्थी संख्या केही बढाउन सकिने उहाँको भनाइ छ । अभिभावक भेलाबाट अभिभावककै सहभागितामा यातायात सेवा व्यवस्थापन गर्ने निर्णय समेत भएको प्रधानाध्यापकले बताउनुभएको छ । विद्यार्थी संख्या बढाउन स्थानीय टोल विकास संस्थाहरुसँग पनि समन्वय गर्न सकिने प्रधानाध्यापक सञ्जेलले बताउनुभयो ।