स्वास्थ्य क्षेत्रलाई अत्यावश्यक र संवेदनशील मानिन्छ । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी बिरामीको उपचारका लागि व्यवस्था गरिएको हो । हरेक स्वास्थ्यकर्मीले आफ्नो लक्षता र क्षमताले भ्याएसम्म बिरामीको उपचार गर्दछन् । तर, अस्पताल वा स्वास्थ्य संस्थामा ल्याइएका बिरामी सबैलाई चिकित्सक वा स्वास्थ्यकर्मीले परीक्षण र उपचार गर्दैमा निको हुन्छ भन्न ग्यारेन्टी हुँदैन । स्वास्थ्यकर्मीले बिरामीको उपचारको प्रयास गर्दागर्दै पनि बिरामीको अवस्था बिग्रँदै जाने वा मृत्युसमेत हुनसक्छ । यस्तो अवस्थामा बिरामीको आफन्तजन दुःखी बन्नु स्वभाविक हो । तर, स्वास्थ्यकर्मीले उपचार गर्दागर्दै उनीहरुको कुनै गल्ती नहुँदा पनि चिकित्सकमाथि हातपात गर्ने र क्षतिपूर्तिको नाममा रकम लिने परिपाटी बढ्दै गएको छ । पछिल्लो समय सामान्यभन्दा सामान्य समस्या हुँदा पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण हुने अमानवीय र अस्वभाविक घटनाहरु बढ्न थालेका छन् ।

बुधबार हेटौंडामा चिकित्सक कुटिएको घटनाले अहिले देशव्यापी चर्चा र चासो पाएको छ । चिकित्सक कुटिएको सीसीटिभी फुटेज सार्वजनिक भएपछि कुटपिट गर्ने समूहप्रति स्वास्थकर्मीमात्र नभई आम सर्वसाधारणले आक्रोश व्यक्त गर्दै कारबाही माग गरेका छन् । बुधबार बिहान १० बजेको समयमा हेटौंडा–१ स्थित सञ्चो हस्पिटलमा बिरामीको उपचार गराउँदै गरेका डाक्टर विकास थापा र प्रशान्त बिडारीलाई कुटपिट गरिएको थियो । करिब एक महिनाअघि उक्त अस्पतालमा उपचार गराउन आएका हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानलाई दोस्रो पटक डेंगु पुष्टि भएर अवस्था जटिल बनेपछि भोलिपल्टै अस्पतालले रिफर गरेको थियो । उपचारका लागि चितवन मेडिकल कलेज पु¥याइएको प्रधानको पर्सीपल्ट मृत्यु भएको थियो । बुधबार मृतक प्रधानकै आफन्तसहितको समूहले अस्पतालले उपचारमा लापरबाही गरेको भन्दै डाक्टरहरुलाई कुटपिट गरेको हो । जिल्ला प्रहरी कार्यालयमा छलफलका लागि लगिएका पीडित डाक्टरहरुलाई कुटपिट गर्ने समूहले प्रहरी प्रमुखकै अगाडि काट्छु, मार्छु भनेपछि आक्रमणमा परेका डाक्टरहरुले जाहेरी दर्ता गराउनसमेत डराएका थिए । बिहीबार नेपाल मेडिकल एशोसिएनले जाहेरी दर्ता गरेपछि प्रहरीले कुटपिटमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

बिरामीलाई उपचार गर्ने डाक्टर नै सांघातिक आक्रमणको शिकार हुनुलाई स्वभाविक मान्न सकिँदैन । सुरक्षाको अभावमा कसैले पनि काम गर्न सक्दैन । हेटौंडाको घटनापछि नेपाल चिकित्सक संघले सुरक्षा माग गर्दै प्रधानमन्त्रीलाईसमेत ध्यानाकर्षण गराएको छ । राजनीतिक दलहरुले पनि घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाही माग गरेका छन् । स्वास्थ्यकर्मीका विभिन्न संघसंगठनले घटनाको विरोध गर्दै दोषीलाई कारबाही नगरे अस्पतालका आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् । हेटौंडा अस्पतालमा कार्यरत डाक्टरहरु सामूहिक राजीनामा दिने बताइरहेका छन् भने कुटाइ खाएका डा. थापा हेटौंडा छाडेर उपचार गराउने भन्दै काठमाडौं गएका छन् । स्वास्थ्यकर्मीले चाहँदैमा सबै बिरामीलाई बचाउन सक्दैनन् । उपचार गर्दागर्दै बिरामीको अवस्था खराब बन्दै जाँदा वा मृत्यु हुँदा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नु कुनै पनि हिसाबले उचित मान्न सकिँदैन । स्वास्थ्यकर्मीको व्यवहार र उपचारमा शंका लागे कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै भीड जम्मा भएर आक्रमण गर्नु अपराध हो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९ ले यस्ता कार्य गर्नेलाई दुईदेखि ५ वर्षसम्मको कैद वा दुई लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था गरेको छ ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा खटिने स्वास्थ्यकर्मीमाथि हुने अमर्यादित कार्यले स्वास्थ्य सेवाप्रवाहमा असर पुर्याउने भएकाले यस्ता कार्य रोक्न दोषीलाई कानुनी कारबाही हुनैपर्छ । कानुन हातमा लिएर चिकित्सकमाथि भौतिक आक्रमण गर्ने, स्वास्थ्य संस्था तोडफोड गर्ने अवस्था बनेमा सबै स्वास्थ्यकर्मीले आफूलाई असुरक्षित महसुस गर्दछन् । यस्तो परिपाटीले स्वास्थ्यकर्मीले बिरामीको उपचारको प्रयास नै नगरी ‘रिफर’ गरिदिने जोखिम बढ्छ, जसको असर सबै बिरामीलाई पर्छ । सबै बिरामीले सहज उपचार सेवा पाउनका लागि स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिनु आवश्यक छ, जसका लागि भएका कानुनी व्यवस्थाको कार्यान्वयन अपरिहार्य हुन्छ ।