हेटौँडाः स्थानीय प्रशासन र प्रहरीबाट सुरक्षाको प्रत्याभूति नभएका कारण सांघातिक आक्रमणमा परेका डाक्टरले प्रहरीमा उजुरी दर्ता गर्ने अवस्था नभएपछि मकवानपुरका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिकरुपमा प्रहरीमा उजुरी दर्ता गराउने भएको छ । बुधबार बिहान हेटौँडा–१ स्थित सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि एक समूहले सांघातिक आक्रमण गरेका थिए । डाक्टरमाथि आक्रमण गर्ने समूहले विरामीका कुरुवालाई समेत कुटपिट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजालको कार्यकक्षमै आक्रमणकारी र पीडित डाक्टरबीच मुद्दा दर्ता नगराउन वार्ता समेत भएको थियो । प्रहरी प्रमुखकै अगाडि डाक्टरलाई काट्छु र मार्छु भनेपछि डाक्टरहरुले मुद्दा दर्ता गराउने अवस्था नभएको पीडित डाक्टरको भनाइ छ । बुधबार अबेरसम्म वार्ताको नाममा पीडित डाक्टरहरुलाई नै हतोत्साहित गर्ने काम भएपछि बिहिबार बिहान हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सञ्चालकहरुले छलफल गरी सामूहिक रुपमा मुद्दा दर्ता गराउने तयारी भइरहेको एक चिकित्सकले जानकारी दिएका छन् ।
सामूहिकरुपमा अस्पतालमा उपचाररत डाक्टरमाथि सांघातिक आक्रमण हुनु, पीडित डाक्टरको सुरक्षा र पीडकलाई कारवाही गराउन स्थानीय प्रशासन र प्रहरी निरीह भएपछि चिकित्सकहरु निराश हुँदै जिल्ला छाड्ने तयारी समेत गरिरहेका छन् । डाक्टरमाथि आक्रमण हुनु र पीडकहरु कारवाहीमा नपर्ने अवस्थाले हेटौँडाका सर्वसाधारणमा त्रासको समेत स्थिति छ । चिकित्सकमाथिको आक्रमणको विषयलाई लिएर नेपाल चिकित्सक संघले बुधबारै विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाहीको माग गरेका छ ।