हेटौँडाः बुधबार हेटौँडास्थित सञ्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति मकवानपुरका राजनीतिक दलहरुले ध्यानाकर्षण भएको जनाएको छ । दोषीलाई कारवाही गर्नुपर्ने, प्रहरी, प्रशासन जिम्मेवार हुनुपर्नेमा दलहरुले ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले डाक्टरमाथिको आक्रमण निन्दनीय भएको बताउनुभयो । चिकित्सकमाथि आक्रमण हुनु दुखद् घटना भएको उल्लेख गर्नुहुँदै सभापति लामाले दोषीलाई प्रहरी, प्रशासनले कारवाही गर्न आनाकानी गरिरहेको अवस्था भने आश्चर्यजनक भएको बताउनुभयो ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठले अस्पतालमा उपचार गरिरहेका डाक्टरमाथि सांघातिक आक्रमण हुनु जिल्लाकै बेइज्जतीको विषय भएको बताउनुभयो । यो विषयमा दलहरु सबै एक भएर दोषीलाई कारवाही गर्नुपर्ने श्रेष्ठको भनाइ छ । दोषीलाई बचाउन दलहरु लाग्ने अवस्था हुन नहुने पनि उहाँले स्पष्ट पार्नुभयो । डाक्टरहरुको कमिकमजोरी भए कारवाहीको कानुनी प्रक्रिया हुँदा हुँदै सांघातिक आक्रमण हुनु गलत भएको उहाँले बताउनुभयो ।
नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेम बहादुर पुलामीले डाक्टरमाथि भएको आक्रमणले चिकित्सकहरु हेटौँडामा बस्ने अवस्था नहुने उल्लेख गर्नुहुँदै घटनाबारे बुझेर दोषीलाई कारवाही गराउन पहल गर्ने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर सभापति भरत पराजुलीले बुधबार साँझ मात्रै हेटौँडा आइपुगेको र घटनाबारे बुझेर दोषीलाई कारवाहीका लागि पहल गर्ने बताउनुभयो ।