आजका बालबालिका भोलिका कर्णधार,
यिनै हुन् देश विकासका मूल आधार ।
हेटौंडा उपमहानगरपालिकालाई २०८० मंसिर महिनाभित्र बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियान चलिरहेको छ । अभियानअन्तर्गत् २०७९ सालको पुस महिनाबाट सुरु भएको बाल समूह गठन प्रक्रिया विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालगायत संघसंस्थाहरुमा अहिलेसम्म पूर्णरुपमा गठन भइसकेको छ । सोअनुसार निर्देशित भएका कार्यक्रमहरु चरणबद्धरुपमा अगाडि बढिरहेको छ ।

बालबालिका भन्नाले जन्मेदेखि १९ वर्षमुनिका सबै मानवलाई बुझ्नुपर्छ । बालबालिकाले जन्मेदेखि १८ वर्ष उमेर नपुगुञ्जेलसम्म बाँच्न पाउनु, संरक्षण पाउनु, वृत्ति विकास राम्रोसँग हुनु, हरेक क्षेत्रमा सहभागी हुन पाउनु नैसर्गिक अधिकारभित्र पर्दछ । १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि श्रममा र १८ वर्ष पूरा नभएका बालबालिकालाई निकृष्ट किसिमको श्रममा लगाउन पाइँदैन । साथै उनीहरुको शारीरिक, मानसिक, बौद्धिक, नैतिक एवम् सामाजिक विकासमा हानी पुग्ने कुनै पनि कार्य गरेमा बालअधिकार र बालश्रम ऐन २०५६ बमोजिम कानुनी सजाय हुनसक्छ ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले मार्गदर्शन गरेका ५१ वटा सूचकहरुमा आधारित रही विभिन्न टोल विकास संस्थाहरु र विद्यालयहरुलाई समेटरे बालमैत्री स्थानीय शासनयुक्त नगर बनाउनका लागि हेटौंडा उपमहानगरपालिकाले पनि सूचकहरु तयार पारी सो पूरा भए, नभएको स्थानीय क्षेत्रमै पुगी आवश्यक अनुगमन, अनुसन्धान गरिरहेको पाइन्छ । बालअधिकार चार क्षेत्रहरु बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागितालाई मुख्यरुपमा अंगीकार गर्दै अघि बढिरहेको बालबालिकाहरुको समुदाय र विद्यालयस्तरीय बाल समूह गठनले छरिएर रहेका बालबालिकालाई एकीकृत गरी एउटा सूत्रमा बाँध्ने काम गरेको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ जारी गरी नेपाललाई वि.सं. २०८७ सालसम्म बालमैत्री राष्ट्र बनाउने लक्ष्यसहित राष्ट्रिय नीति तर्जुमा गरेसँगै सुरु भएको कार्यक्रमको लक्ष्य (उद्देश्य) अनुरुप विस्तारै अघि बढिरहेको पाइन्छ ।

सामुदायिक विद्यालयहरुमा बालबालिकाहरुको यस प्रकारको समूह गठनको प्रयास नौलो भने होइन । बाल क्लब, इको क्लब, जुरेस, स्काउट आदिका नाममा बालबालिकाहरुको समूह निर्माण भई उद्देश्यअनुरुप समूह–समूहमा विभाजित भई कार्य अघि बढिरहेकै हो । यसले विद्यालयको वातावरण राम्रो, स्वच्छ, हराभरा, सद्भावपूर्ण र सहयोगी बनाउन पहिलादेखि नै महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । तर, निश्चित लक्ष्य र उद्देश्यका साथ नेपाल सरकारबाट बालबालिकाको क्षेत्रमा सकारात्मक र उद्देश्यमूलक प्रभाव पार्न आएका यस्ता कार्यक्रमहरु निकै नै प्रशंसायोग्य छ । विद्यालय, टोल, नगर र जिल्ला हुँदै देशमै यस्ता कार्यक्रम लागू गरिनु सकारात्मक कुरा हो । यसले विभिन्न क्षेत्रमा छरिएर रहेका बालबालिकालाई विकास र समृद्धिको मूलधारमा ल्याई उनीहरुको आन्तरिक र व्यक्तिगत क्षमतालाई प्रष्फुटित गरी नेतृत्व क्षमता अभिवृद्धि तथा समग्र विकासमा टेवा पुर्याउँछ ।

सामुदायिक विद्यालयमा बाल समूह गठनले निम्नलिखित फाइदा पुर्याएको पाइन्छ ।
१. सामूहिक र सामाजिक भावनाको विकास ।
२. नेतृत्व क्षमतको विकास ।
३. एक–आपसमा सद्भाव, सहयोग, प्रेम, बन्धुत्वको विकास ।
४. समूहमा रहेर काम गर्ने, म होइन हामी भन्ने भावनाको विकास ।
५. विद्यालयमा अनुशासन तथा आचारसंहिता लागू भए नभएको अनुगमन तथा सम्बन्धित निकायलाई सतर्क बनाउने कामको सुरुवात ।
६. विद्यालय तथा अन्तरविद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउने साथै सञ्चालन गर्ने क्षमताको विकास ।
७. विद्यालयमा बालमैत्री व्यवहार लागू गर्न विशेष सहयोग र भूमिका ।
८. विद्यालयका शिक्षक तथा प्रशासनले पूर्णरुपमा लागू गर्न नसकेको वा फितलो बनिरहेको विद्यालयका नीति, नियमहरुलाई कार्यान्वयन गराउन बाल समूहको सक्रियताले सहज महसुस भएको प्रधानाध्यापक तथा शिक्षकहरुको भनाइ ।
९. विद्यालय हाता वरिपरि १०० मिटर दुरीमा जङ्कफुड, चुरोट, मदिरा तथा सुर्तीजन्य पदार्थ बेचविखनमा पूर्णरुपमा रोक लगाउन सफल ।
१०. विद्यालय तथा अन्य बाह्य संघसंस्थाद्वारा आयोजित बौद्धिक तथा शारीरिक क्रियाकलाप सम्बन्धी कार्यक्रमहरुमा सक्रिय सहभागिता वृद्धि ।
११. विद्यार्थीहरुमा पठन संस्कृतिको विकास ।
१२. टोल, छरछिमेक तथा समुदायमा हुने सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरुमा सहभागिता जनाउने गरेको पाइएको ।
१३. बेला–बेलामा समयानुकूल नियमित दिन तोकी बैठक बस्ने, माइन्यूट उठाउने, पदाधिकारीहरु तोक्ने, आवश्यक सल्लाह तथा छलफल गर्ने, अतिथिहरुलाई निमन्त्रणा गर्ने, चिठ्ठीपत्र तयार गर्ने, प्रस्तावहरुमाथि निर्णय गर्ने आदि क्षमताको विकास ।
१४. विद्यार्थीहरुमा कोभिड–१९ को महामारीपछि अनलाइन शिक्षाले गर्दा अत्यधिक र अनावश्यक रुपमा मोबाइल फोन प्रयोग गर्ने बानीलाई निरुत्साहित गर्न सहयोग ।
१५. कुसंगत, कुलत, दुव्र्यसनमा लागेका वा लाग्न लागेकाहरुलाई असल, ज्ञानगुनका कुराहरु र कार्यक्रमहरुले बानी–व्यवहार परिवर्तन गर्न सहयोगी भूमिका निर्वाह ।

यसरी हेर्दा सामुदायिक विद्यालय, जहाँ सबैको चासो र चिन्ता कम रहेको पाइन्छ, त्यस्ता सम्बन्धित निकायहरुबाट यस्ता बाल समूहको गठन, क्रियाकलाप र कार्यान्वयनले सकारात्मक रुपमा प्रभावकारी भूमिका निर्वाह गरेको पाइन्छ । व्यापार, व्यवसाय, राजनीति तथा देशको विभिन्न सरकारी ओहोदामा भविष्यमा पुग्ने यस्ता कर्णधारहरुलाई बेलैमा बालमैत्री वातावरण दिएर अघि बढाउन सके यो देशमा असल र सवल नागरिकहरु तयार भई देश विकासमा ठूलो टेवा पुग्ने कुरा नकार्न सकिँदैन ।

(पौडेल हेटौँडा–४, कर्रास्थित श्रमिक माविकी शिक्षक हुनुहुन्छ ।)