हेटौंडाः सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा गाईजात्रा विशेष हास्यव्यङ्ग्य प्रदर्शन गरेको छ । कार्यक्रममा मकवानपुरका हास्य कलाकारहरुले राजनीति र सामाजिक विकृति, विसङ्गतिविरुद्ध प्रस्तुति दिएका छन् ।
हास्य कलाकारहरु सानोभाइ विक, राजकुमार लामिछाने र सानुबाबु खनालले नेपाली समुदायमा विवाह हुँदा खाडो जगाउने विशेष परम्परालाई प्रस्तुत गरेका छन् । यस्तै, सांसदको परिचय र सांसदहरुलाई आसनग्रहण चिरञ्जीवी लामिछानेले गर्नुभयो । संसदको कारवाही सुरु हुनुभन्दा अगाडि संसदीय अभ्यास, नेताको कार्यशैली र राजनीतिको अवस्थाका बारेमा गायक गहन खतिवडाले गायन प्रस्तुत गर्नुभयो । खतिवडालाई संगीतकार प्रलय चौलागाईं र सागर तिमल्सिनाले साथ दिनुभएको थियोे ।
सभामुख(सभामुर्ख) डीबी बर्ताैलाबाट संसदको कारवाही सुरु भएको थियोे । प्रतिपक्ष र सत्तापक्षबीच शैक्षिक योग्यता, नागरिकता विधेयक, सुनकाण्ड, महिला हिंसालगायत विषयहरु संसदीय बैठकमा उठान गरिएको थियो । अर्को वर्ष गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रमसम्मका लागि बैठक स्थगित गरिएकोे छ । संसदीय बैठकमा मर्यादापालकका लागि बैकुण्ठ लामिछाने, सुवास सजल र सविता तिमल्सिनाले भूमिका निर्वाह गर्नुभयो ।
यसैगरी कवि गायत्री नेपालले कविता वाचन गर्नुभयो । गायिका स्वस्तिका दाहालले प्यारोडी गीत गाउनुभयो । कलाकारहरु ओमभक्त भण्डारी र मीनप्रसाद लामिछानेले अन्धविश्वासविरुद्ध धामीझाँक्री प्रहसन गर्नुभयो । आरसी रिजाल र राजकुमार लामिछानेले चिठीवाचन प्रहसन गर्नुभयो । गायक अजय फुयाँलले प्यारोडी गीत प्रस्तुत गर्नुभयो । कमेडीयन आशाकाजी श्रेष्ठले स्ट्याण्डअप कमेडी र गायक पुरुषोत्तम आचार्यले गायन प्रस्तुुत गर्नुभयो ।
सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देललगायतको उपस्थिति थियो । हेटौंडा–४ नम्बर वडा कार्यालयको सहयोगमा उक्त कार्यक्रम भएको हो ।