तुल्सी थापा मकवानपुरको शैक्षिक र साहित्यिक वृत्तमा परिचय दिइरहनु पर्ने नाम होईन । २०८० भाद्र ८ गते ७८ वर्षको उमेरमा तुल्सी सर भौतिकरुपमा यो दुनियाँबाट बिदा हुनुभयो । सादा जीवन, सच्चा चरित्र, कठोर स्वाभिमानी व्यक्तित्व तुल्सी थापाले समाजको अग्रगतिका लागि शिक्षा र साहित्यका माध्यमबाट प्रदर्शन गर्नुभएको भूमिकाकै कारण मकवानपुरको एक अविस्मरणीय व्यक्तित्वकोरुपमा उहाँलाई चिरकालसम्म स्मरण गरिरहनेछ ।
हेटौँडाबाट ११ किलोमिटर उत्तरतर्फ भीमफेदी जाने र काठमाडौं जाने त्रिभुवन राजपथको दोभानमा अवस्थित सानो तर पुरानो बजार भैंसेका स्थायी बासिन्दा तुल्सी सरले हेटौँडा तथा काठमाडौंमा बसाईं सर्ने अनि ठूला महलको सपना कहिल्यै नदेखेको भन्दा अत्युक्ति नहोला । तीसकै दशकमा अंग्रेजी मूल विषय लिई स्नातक उत्तीर्ण व्यक्ति अन्य सरकारी जागिरको कुन तह र पदमा पुगेका थिए र छन् भन्ने चर्चा यहाँ गरिरहन जरुरी नपर्ला । व्यक्तिगतरुपमा म तुल्सी सरको गाउँले र पारिवारिक सम्बन्धको निकट होईन । पुस्ताले उहाँ म भन्दा अघिल्लो पुस्ताको भएर पनि शिक्षण पेशामा मैले नजिकिने अवसर पाउँदा थोरै समयमा उहाँबाट धेरै सिकेको महसुस गरेको छु ।
मेरो तुल्सी सरसँगको प्रत्यक्ष परिचय २०४९ सालमा पोखरामा सञ्चालित ‘स्कूल म्यापिङ सेमिनार’ मा भएको हो । उक्त सेमिनारमा विशालकुमार शर्मा सरले तीन पुस्ता भेट भएछ भनी तुल्सी सरलाई आफ्नो पनि गुरु भनेर चिनाउनु भएको थियो । विद्यालयको वैज्ञानिक नक्शाङ्कनका लागि तुल्सी सरले त्यसबेला व्यक्त गर्नु भएको विचार आज पनि सान्दर्भिक छ । विद्यालय स्थापनामा दूरी र जनसंख्यामात्र हैन, भौगोलिक बनावटसहित बाटो लगायतका भौतिक सुविधा समेत ख्याल गरिनु जरुरी छ भन्ने उहाँको भनाई आज पनि विचारणीय छ । तत्पश्चात् तुल्सी सरसँगको भेटघाट क्रमशः केहि बाक्लो बनेको र मैले तुल्सी सरसितको प्रत्येक भेटबाट केहि न केही सिक्ने गरेका दिनहरु बिर्सन सक्दिनँ ।
त्यतिबेला उहाँ कालिका मावि नामटारको प्रधानाध्यापक भएकाले पनि बढि चर्चामा भएको तथ्य स्मरणीय छ । पचासको दशक प्रारम्भमा देशव्यापीरुपमा आएको बाढी पहिरोका कारणले व्यापक धनजनको क्षति भएको मकवानपुरमा पालुङ, नामटार, मनहरी, छतिवन, फापरबारी अधिक बाढीपीडित क्षेत्र घोषित भएका थिए । बाढीले नामटारको भुगोल नै क्षतविक्षत् गर्दै कालिका माविको नाम निशाना नै खोज्नुपर्ने स्थिति बनायो । त्यो स्थानमा अब विद्यालयको स्थापना सम्भव नभएको र बनाउन नसकिने भन्नेहरुका लागि तुल्सी सर पहाड झैं चुनौती सामना गर्न तत्पर भएकै कारणले आजको कालिका मावि नामटारको पहिचान बनेको छ ।
काठमाडौं र जापानलगायतका देशमा रहेका आफ्ना पूर्वविद्यार्थीसँगको सहकार्य, जाईकासँगको सम्बन्ध र आर्थिक सहयोग संकलनको नेतृत्व गर्दै निरन्तर जुटेर पहिरो र बगर हटाएर बिकट स्थानमा विद्यालय भवन निर्माण गर्न सफल हुनुभएको, अझ पहिलेको भन्दा स्तरीय र सुविधायुक्त विद्यालय भवन बनाएर व्यापक विद्यार्थीको आकर्षण बृद्धि गर्न सकेकोमा सन्तोष व्यक्त गर्दा सरकारी व्यवहारबाट भने प्रशन्न हुन नसकेको उहाँको अभिव्यक्तिबाट स्पष्ट हुन्थ्यो । यो काम सहज र ठट्टा थिएन । तुल्सी सरको लगनशीलता र ईमान्दारिता नै यो सफलताको मूल कारण हो भन्नेमा कसैको बिमति छैन ।
तुल्सी सर अंग्रेजी भाषा विषयको कुशल र दक्ष शिक्षक समेत भएकाले जिल्लाका अंग्रेजी भाषा विषयका शिक्षकहरुको संस्था नेल्टाको अध्यक्ष बन्न तुल्सी सरलाई अनुरोध गर्दा ‘तिम्रो प्रस्ताव ईन्कार गर्न मलाई कठिन भयो’ भन्नु हुँदा म अति खुशी भएको क्षण हिजो जस्तो लाग्छ । तत्कालिन असहज र जटिल अवस्थामा हामी एकै समितिमा रहेर संस्था जीवित राख्नका लागि सक्दो प्रयत्न गर्दा तुल्सी सरको अभिभावकत्व अत्यन्त जिम्मेवार रहेको प्रमाण उक्त समितिका सबै पदाधिकारीहरु साक्षी हुनुहुन्छ ।
तत्कालीन एसएलसीमा अंग्रेजी भाषा विषयमा २५ अंकको परीक्षा प्रयोगात्मक हुने र सो परीक्षा सञ्चालनमा “लिस्निङ र स्पिकिङ” लाई प्रभावकारी र सही अर्थमा जाँच नै बनाउनु पर्छ, रत्ति पनि कमजोरी नहोस् भनी परीक्षार्थीको सही मूल्याङ्कनका लागि उक्त परीक्षामा संलग्न सबै अंग्रेजी शिक्षकहरुका मार्गदर्शक तुल्सी सर हुनुभएको अनुभव मैले गरेको छु । प्रयोगात्मक अंक दिँदा पूर्णाङ्क नै दिने, परीक्षा नै नलिने, नाम र अनुहार हेरेर अंक दिने, फर्जी अंकको ख्याल नगर्ने, सारमा औपचारिकता मात्र पूरा गर्ने संस्कार तोड्नै पर्नेमा बारम्बार जोडदिनुहुने तुल्सी सरको पेशाप्रतिको सम्मान र ईमान्दारिता उदाहरणीय भन्नै पर्दछ ।
तीसको दशकमा जनकल्याण मावि पालुङबाट काजमा तुल्सी सरलाई प्रजा विकास अधिकृत बनाएर मकवानपुरको पश्चिमी क्षेत्र मनहरी, राक्सीराङ, डाँडाखर्क, चितवनको समेत केहि भागका जंगलमा जीवन व्यतित गर्ने चेपाङ जातिको उत्थान र विकासका लागि स्थापना गरिएको कार्यक्रमको जिम्मेवारीमा खटाईएको थियो । प्रजा विकास कार्यक्रमको मुख्य कार्यालय मनहरीको चैनपुरमा स्थापना गरी चेपाङहरु (तत्कालीनरुपमा प्रजाहरु भनिएको) लाई सामाजिकीकरणमा गरेको सराहनीय योगदानको विस्तृत चर्चा प्रताप बिष्टले आफ्नो किताब “छेलिएका अनुहार” मा गर्नु भएको छ । उक्त किताबमा प्रताप विष्टले चेपाङ जातिको उत्पत्ति र उत्थानका बारेमा पिँधमै पुगेर चर्चा गर्दा तुल्सी सरको प्रारम्भिक योगदानका प्रसंगको उल्लेख गर्नुभएबाट उहाँको स्वभाव, कार्यशैली, चरित्र र इमान्दारिताको प्रभावकाबारेमा कतै कसैले शंका गर्ने ठाउँ छैन ।
कुनै पनि राजनीतिक पार्टीको खुलेर पक्ष नलिएको कारणले नै होला, उहाँको निधन हुँदा सायद शैक्षिक र साहित्यिक क्षेत्र बाहेक अरुले श्रद्धान्जलीका दुई शब्द व्यक्त गरेको पाइएन । यो तितो स्थितिले हाम्रो राजनीति र सरकारी अंगहरुको नियत अनि दृष्टिकोण छर्लङ्ग बनेको छ । तस्कर र अवसरवादी, अनि दिनको तीनपटक पार्टी बदल्ने र ठूलो रकममा पद किनबेच गर्नेहरुको भिडमा स्वाभिमानी श्रष्टाहरु ओझेलमा पर्नु नौलो विषय होईन ।
जागिरे जीवनको करिब अन्ततिर आईपुग्दा उहाँलाई स्थायी प्रकृतिका रोगहरुले गाँज्न शुरु गरेकाले अलि सुविधायुक्त ठाउँ भए हुन्थ्यो कि भन्ने उहाँको आशय बुझिन्थ्यो । सिधा खुलेर सरुवा माग भने गर्नु भएन । त्यतिबेला चाहना राखेर अलि चाकडी गरेको भए भूटनदेवी माविमा नै सरुवा हुन सकिने अवस्था थियो । अन्तमा, कृष्ण मावि भैंसेमा उहाँको सरुवा भयो । जागिरका विषयमा आफ्नो कुरो कहिल्यै नउठाउने स्वभावकै कारण तुल्सी सर एक स्वाभिमानी प्रधानाध्यापक बनेर अरु प्रधानाध्यापकहरुका लागि दह्रो उदाहरण र मार्गदर्शक बनेकाले नै म उहाँलाई प्रधानाध्यापकहरुको पनि प्रधानाध्यापक भन्न रुचाउँछु ।
साहित्यिक विधा शिक्षाकै एक महत्वपूर्ण अंग हो भन्नेमा बहस गरिरहननपर्ला । तुल्सी सरले साहित्यमा पाईलो कहिले राख्नु भयो, त्यो तिथि मिति बिस्तारै बाहिर आउला । उहाँले एकपटक मलाई आफूले लेखेको “अमरसिंहको खोजीमा अमर सिंह नाटक” पढ्न दिनुभएको र सोको समीक्षा समेत लेखेको मलाई राम्रो याद छ । यो नाटक राष्ट्रियस्तरमा मञ्चन भएको चर्चित नाटक पनि हो । सरले तीन वटा किताब लेख्नुभएको र कविता, नाटक, लेख तथा समिक्षाबाट साहित्यमा उहाँले उल्लेखनीय योगदान गरेको चर्चा अहिले बाहिर आइसकेको छ ।
आफ्ना विचारहरुको प्रस्तुतीका लागि साहित्यको मार्ग रोजेर यसैबाट केहि न केहि लेखेर समाजको समृद्धि र उन्नत स्थितिका लागि स्वाभिमान र ईमान्दारिता अनि लगनशीलताको सन्देशहरु प्रवाह गर्न ऐतिहासिक र यथार्थपरक लेखनको छनौट गर्नुभएको तथ्य उजागर भएको छ । अन्तमा, तुल्सी सर भौतिकरुपमा हामीसँग नहुनु भएपनि सरको स्वाभिमान र लगनशीलताको योगदानले समग्र शैक्षिक अनि साहित्यिक क्षेत्रमा कम्तिमा अनुकरणीय उदाहरणीय व्यक्तित्व एवम् श्रष्टाको रुपमा सरकारीस्तरबाटै ग्रहण गरिएमा उच्च सम्मान हुने अपेक्षा सहित तुल्सी थापा सरप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।
(लामिछाने हेटौँडा–६ स्थित बंशगोपाल माविका प्रधानाध्यापक हुनुहुन्छ ।)