तीर्थ बहादुर थापा मगर, हेटौँडा उपमहानगर कमिटी अध्यक्ष, नेकपा माओवादी केन्द्र

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले तीन महिने जनतासँग माओवादी अभियानको सुरुवात गरेको छ । जनताको घरदैलोमा पुगेर विविध क्रियाकलाप गर्दै पार्टीलाई समुदायसँग जोड्ने प्रयास भएको देखिन्छ । निर्वाचन सकिएको एक वर्ष हुँदै गर्दा नै माओवादीले जनतासम्म पुगेर के सन्देश प्रवाह गर्न खोजेको हो ? जनतासँग माओवादीले के के गर्छ भन्ने विषयमा समृद्ध समाज दैनिकका लागि सुमिना चौलागाईले नेकपा माओवादी केन्द्र हेटौँडा उपमहानगर कमिटीका अध्यक्ष तीर्थबहादुर थापा मगरसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः माओवादीको तीन महिने जनतासँग माओवादी अभियानको सुरुवात भएको छ । चुनाव आएको छैन, चुनाव नै नआइकन जनतासम्म पुग्ने यो अभियान किन र केका लागि ?
मगरः
अहिले हामीले घरघरमा माओवादी नाम राखेर विशेष अभियान दिएका छौं भने भदौ १६ गतेदेखि मंसिरको १६ गतेसम्मका लागि हामीले ३ महिना घरघरमा माओवादी जनजनमा माओवादी अभियान सुरु गरेका छौं । यो अभियान चुनावसँग सम्बन्धित छैन । जनतासँग माओवादी र विशेष रुपान्तरण भनेका छौं । हिजोको दिनमा हामी जनताबाट भएको अनुभूति गरेको छ । त्यसैले विशेष रुपान्तरणमा नयाँ विचार बनाउने, संगठनलाई सुदृढीकरण गर्ने र जनताको पार्टी बनाउने भनेर हामी यो अभियानमा लागेका छौं ।

समाजः सत्तामा रहिरहेका बेला माओवादीले राज्यसत्तामार्फत नै राम्रा काम गरे पुग्थेन ?
मगरः
सत्ता पुग्ने भन्ने र सरकारमा रहने भन्ने कुरा फरक छ । सत्ता भन्नाले समग्र राज्यका अङ्गहरु भन्ने बुझ्नु पर्दछ । माओवादी पटक–पटक सरकारमा गएको छ । अहिले पनि हामी सरकारमै छौं । सरकारमा गएर पनि हामीले काम गर्ने अवसर पाएका छैनौं । त्यसैले अहिले सरकारले गरेका राम्रा कुराहरु छन् । जस्तै हामीले सुशासनका कुरा उठाएका छौं । सामाजिक न्यायको कुरा गरेका छौं । अर्को समृद्धिका कुरा जनतासम्म पुर्याउनुपर्यो भनेका छौं । माओवादीको निर्णय के छ भने २५ लाख मतदातासँग प्रत्यक्ष भेट्ने र हामीले गरेका राम्रा कामको कुरा गर्ने भनेका छौं । माओवादी बिग्रेको पनि हामीले महसुस गरेका छौं । पार्टी सुध्रिनका लागि जनताले प्रश्न गरोस् । पार्टी सुध्रिन के के गर्नुपर्छ भनेर बुझ्न हामी जनताको बीचमा जाँदैछौं ।

समाजः जनतासँग माओवादीले भेट्दा के–के गर्ने योजना बनाएको छ ?
मगरः
अहिले हामीले तीनवटा कुरा भनेका छौं । जनतासँग जाँदै गर्दा हामीले सोध्छौं हामीले के–के कुरा सुधार्नु पर्छ ? हामी सरकारको नेतृत्व गरिरहेको पार्टी भएकोले हामीले के गर्न सक्नुपर्छ ? हामी राजनीतिक रुपमा परिवर्तन गर्न त सफल भयौं तर आम मानिसको जीवनमा अपेक्षिप परिवर्तन गर्न सकेनौं । त्यसको आधारमा जनतासँग संवाद गर्ने, गुनासो सुन्ने, सुझावहरु लिने, त्यसको आधारमा आगामी दिनमा सरकार चलाइरहेको हुनाले सरकारको त्यसमा ध्यानाकर्षण गर्ने जस्ता योजना बनाएका छौं ।

समाजः तपाइँ हेटौँडा उपमहानगर कमिटीको अध्यक्ष हुनुहुन्छ । मकवानपुर जिल्लामा माओवादीको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
मगरः
माओवादीको स्थानीय तहको मत हेर्दा मकवानपुर जिल्लामा बलियो उपस्थिति रहेको छ । हामीले के भनेका छौं भने मकवानपुरका माओवादी कस्तो छ त भन्दा पार्टीलाई विधि र पद्दतिमा लैजानु पर्नेछ । हामीलाई आरोप पनि छ तर माओवादी पार्टी विधि र पद्दतिमा चलेन, विधि र पद्दति मिचेर अगाडि बढ्यो भन्ने आरोप पछि छ । पार्टीलाई विधानसम्मत लैजाने हामी कोसिस गरिरहेका छौं । यो तीन महिनाको अभियानपछि पार्टीको विधान अधिवेशन गर्ने गर्दैछौं । त्यसपछि विशेष महाधिवेशन गर्ने भनेका छौं । मकवानपुरको १० वटै पालिकालाई हेर्छौं भने हामी मजवुद अवस्थामा छौं । अझ पार्टीलाई हामी पद्दतिमा चलाउने प्रयास गरिरहेका छौं । यो तीन महिनाको अभियानपछि हामी शक्तिशाली पार्टी बनाउने प्रयासमा छौं ।

समाजः तपाइँहरु जनता भनेर आफ्नै पार्टीको कार्यकर्तासँग मात्रै कुरा गरिरहनुभएको छ । आमरुपमा जनतासम्म गएजस्तो त देखिँदैन नि ।
मगरः
होइन हामीले यो कार्यक्रम भर्खर सुरुवात गरेका छौं । भदौ १६ गतेबाट हामीले देशैभरबाट अभियान सुरु गरेका छौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले अभियानको उद्घाटन गर्नुभयो । यो अभियानलाई हामीले तीन चरणमा अगाडि बढाएका छौं । सुरुमा हामीले हाम्रो पार्टी कमिटीहरुलाई अलिकति व्यवस्थित गर्ने भनेका छौं । बैठक, भेला, सदस्य विस्तार, नवीकरण, प्रशिक्षण, अभिलेख व्यवस्थापन लगायतका कार्य गर्ने भनेका छौं । दोस्रो चरणको रुपमा विभिन्न स्कुलिङ, तालिम, गोष्ठीलगायतका टोलटोलमा युवा भेला, स्थानीय तह, सामाजिक संघ, संस्था, जिल्ला, पालिकाभित्र रहेका जति पनि सरोकारवाला छन् उनीहरुसँग अन्तरक्रिया गर्ने संवाद गर्ने भनेका छौँ भने तेस्रो चरणमा माओवादीकै पार्टीभित्र नरहेका, माओवादीलाई समर्थन गर्ने तहमा जाने । कम्तिमा २५ लाख मतदातासम्म पुग्ने, उहाँहरुलाई भेट्ने भनेर यो अभियान सुरु गरेका छौं ।

समाजः यो तीन महिने अभियान पूरा हुँदै गर्दा माओवादी र जनताबीचको सम्बन्ध कस्तो हुने अपेक्षा गर्नुभएको छ ?
मगरः
यो अभियान हामीले सुरुवात गरेका छौं । हामीले घोषणा पनि गरेका छौं । हामीले भनेका छौं, हाम्रो शरीरमा नङ्ग र मासुको सम्बन्ध जस्तो हुन्छ त्यस्तै सम्बन्ध कायम गर्न चाहान्छौं । जनताको हित र चाहना माओवादीले नै पूरा गर्नेछ भन्ने बुझाउने गरी घनिष्ट सम्बन्ध कायम हुनेछ भन्ने विश्वास छ ।