नेपालमा १५ वर्ष अगाडिबाट हरेक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरिएको छ । ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने नारासहित यस वर्ष पनि आज शुक्रबार १६ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । नेपालमा औपचारिकरुपमा विसं १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । तत्कालीन राजा गिर्वाणयुद्ध वीरविक्रम शाहले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सदनपत्र जारी गरी पुस्तकालयको स्थापना गरिएको थियो । पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवम् आवश्यकताका बारेमा जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ साल भदौ १५ गतेबाट पुस्तकालय दिवस मनाउन थालिएको हो । राष्ट्रिय पुस्तकालय दिवस रचनात्मकरुपमा मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । उक्त समितिले १६ औं राष्ट्रिय पुस्तकालय दिवस मनाउन उक्त समितिले प्रदेश र स्थानीय तहसहित सम्बन्धित निकायलाई पत्राचार गरेको छ । सोहीबमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलेसमेत सबै स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।
पछिल्लो समय विभिन्न विश्वविद्यालय, क्याम्पस, विद्यालय तथा सामुदायिक सामुदायिक पुस्तकालयहरुले समेत भदौ १५ का दिन पुस्तकालय दिवसलाई उत्सवका रूपमा मनाउने गरेका छन् । पुस्तकालयको विकास र यसको उपयोगलाई प्रोत्साहन गर्न पुस्तकालय दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । तर, पुस्तकालयको महत्वलाई संघ, प्रदेश तथा स्थानीय सरकारका साथै शैक्षिक संघसंस्था र सम्बद्ध निकायले प्राथमिकतामा नराख्दा यो दिवसले खासै चर्चा पाउने गरेको छैन । संघीय सरकारका दुईवटा मन्त्रालयले विभिन्न रचनात्मक कार्यक्रम गरेर यो दिवस मनाउन सबै प्रदेश र स्थानीय तहसहित सम्बन्धित निकायलाई आग्रह गरिएको भए पनि पुस्तकालय दिवसको अवसरमा उल्लेख्य कार्यक्रम कमै हुने गरेका छन् । पुस्तकालयको औपचारिक सुरुवात भएको दुई शताब्दीभन्दा बढी भइसकेको छ । हाल नेपालमा विश्वविद्यालय, क्याम्पस, विद्यालयमा रहेका शैक्षिक पुस्तकालय, राष्ट्रिय पुस्तकालय र विशेष पुस्तकालयका अतिरिक्त नौ सय २८ सार्वजनिक पुस्तकालय छन् । यति धेरै पुस्तकालय हुँदा पनि पुस्तकालयको समुचित विकास र उपयोग नहुनु दुःखद् अवस्था हो ।
किताब अर्थात् पुस्तक, पुस्तिका, अखबार, पत्रिका, नक्सा, चार्ट, फिल्म आदि सामग्री व्यवस्थितरुपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्रलाई पुस्तकालय भनिन्छ । पुस्तकालय संस्कृत भाषाको ‘पुस्तक र आलय’ दुई शब्द मिलेर बनेको हो, जसको अर्थ पुस्तकहरु राखिएको घर भन्ने बुझिन्छ । सबैले बुझेका छन्, पुस्तक ज्ञानको भण्डार हो । यो संसारमा पुस्तकको अभाव छैन । हरेक वर्ष विभिन्न विषयका थुप्रै पुस्तकहरु थपिने क्रम जारी छ । तर प्रकाशित र आवश्यक जति सबै पुस्तक पठनपाठनको सहज वातावरण बन्न निकै कठिन छ । पुस्तकालयको आवश्यकता र औचित्यलाई स्वीकार गर्दै संघीय सरकारले ‘एक गाउँ एक पुस्तकालय’ तथा ‘एक विद्यालय एक पुस्तकालय’को नीति लिएको भए पनि कार्यान्वयनको अवस्था सन्तोषजनक छैन । पुस्तकालयमा गएर पढ्ने वा पुस्तकालयबाट पुस्तक लगेर पढ्ने परिपाटीको विकास हुन नसक्दा भएका पुस्तकालय पनि उपयोगविहीनजस्तै बनिरहेका छन् ।
पछिल्लो समय विद्यालय तथा विश्वविद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुमा पठन संस्कृतिको कमी हुँदै गएको छ । पठन संस्कृतिको विकास गर्न पुस्तकालयको महत्व विशेष रहने गर्दछ । यसकारण पनि पुस्तकालयको विकास, विस्तार र उचित प्रयोगमा सबैले चासो राख्नु आवश्यक छ । कमसेकम शैक्षिक संस्थाहरुमा अनिवार्य पुस्तकालयलको व्यवस्था गरी पुस्तकालयको नियमित प्रयोगलाई अनिवार्य बनाउनु आवश्यक छ । पुस्तकालय दिवसका अवसरमा सबै तहका सरकार, शैक्षिक संस्था र सामुदायिक पुस्तकालयहरुले प्रवद्र्धनात्मक र सचेतनामूलक कार्यक्रम गर्न सकेमा यो दिवसले सार्थकता पाउनेछ । पुस्तकालय र यसको महत्वको बारेमा सचेत बनाउन सकिएमा पठन संस्कृतिको विकासमा सहयोग पुग्नेतर्फ सम्बद्ध पक्ष गम्भीर हुनुपर्छ ।