बोली र शब्दमा अतुलनीय वजन । अन्तरमुखी स्वभाव भएका वहुआयामिक क्षमताका धनी तुल्सी थापा । वरिष्ठ साहित्यकारको रुपमा मात्र होईन, प्रेरणादायी एव सफल शिक्षकको रुपमा पहिचान बनाएका थापाको २०८० भदौ ८ गते उपचारकै क्रममा चितवनको एक अस्पतालमा निधन भयो । थापालाई निमोनिया, मधुमेह, रक्तचापसम्बन्धी समस्या थियो । मकवानपुरको शिक्षा र साहित्य क्षेत्रका थापा एक नक्षत्रमात्र थिएनन्, ईमान्दारिता र निष्ठाका प्रतिक पनि थिए ।
विचार, जात धर्मलगायतमा विभाजित समाजमा उनी भने विवादित थिएनन् । उनी कुनै पनि विचार, जात र धर्म भन्दा माथि थिए । आफुले पढाइरहेको नामटारस्थित विद्यालयको भवन र भैँसेस्थित आफ्नो घर २०५० सालको बाढीले बगाउँदा विद्यालय भवन पुनर्निर्माण गरेर पढाईलाई संचालनमा ल्याए तर घर भने बनाएनन् । देशविदेशमा रहेका साथीभाइसँग सहयोग लिएर उनले विद्यालय भवन पुनर्निर्माण गरेका थिए । ‘थापा सर नभएको भए नामटार विद्यालयको भवन बन्ने थिएन’, अर्जुन बर्तौलाले भने, ‘आफनो घर नबनाएर विद्यालय भवन बनाउने शिक्षक अब पाइँदैन ।’ त्यति बेला थापा नामटारस्थित कालिका माविको प्रधानाध्यापक थिए ।
थापा अत्यन्त गरिब, विपन्न र सिमान्तकृत समुदायको उत्थान र विकासको निम्ति कागजी योजनामात्र बनाउने होइन, व्यवहारिक रुपमा कार्यक्रमहरु सञ्चालन गरेर उनीहरुको जीवनमा परिवर्तनको रेखा कोर्ने कालिगढ पनि हुन् । २०३४ सालमा मनहरीमा भएको चेपाङहरुको वृहत भेलाको सदस्य सचिव पनि तुल्सी थापा नै थिए । त्यतिमात्र होईन, उनको बुबा दिलबहादुर थापाले प्रज्ञा प्रतिष्ठानको आग्रहमा व्यवहारिक ज्ञानका निम्ति नेपाली भाषालाई चेपाङ भाषामा उल्था गरेका थिए । त्यसले पनि थापालाई कुना कन्दराको ओढारहरुमा बसेका अत्यन्त विपन्न चेपाङ समुदायप्रति आकर्षण गरेको हुनुपर्छ । मकवानपुरमा यो समुदाय त्रिभुवन राजपथदेखि पश्चिम, पूर्व–पश्चिम राजमार्गको हेटौँडा–मनहरीखण्डदेखि उत्तर र मुग्लिङदेखि खानीखोलासम्म पृथ्वीराजमार्गको पूर्वको भित्री भागमा पर्ने, कुनै पनि राजमार्गले नछिचोलेको त्रिकोेणात्मक पहाडी भूमिको भित्री भागको जंगलबीचको ओढारमा बस्थ्ये । यो भुखण्ड चुरे पर्वत श्रृङ्खलाको उत्तर र महाभारत पर्वत श्रृङ्खलाको दक्षिणमा पर्छ ।
सदस्य सचिव भएर चेपाङ सम्मेलन गरिरहँदा उनी थाहा नगरको जनकल्याण माध्यमिक विद्यालयको प्रधानाध्यापक थिए । उक्त सम्मेलनको नेपाल रेडक्रस सोसाइटीका संस्थापक अध्यक्ष प्रिन्सेप शाहले उद्घाटन गरेकी थिइन् । सम्मेलनमा चेपाङहरुको अवस्था देखेपछि शाहमार्फत तत्कालिन राजा वीरेन्द्रविक्रम शाहलाई जानकारी गराइएको थियो ।
ततपश्चात राजा वीरेन्द्रबाट चेपाङहरुको समग्र विकास र उत्थानका लागि कार्यक्रम सञ्चालन गर्ने घोषणा गरियो । २०३५/३६ सालदेखि तत्कालिन जिल्ला पञ्चायतमार्फत प्रजा विकास कार्यक्रम सञ्चालन गरियो । उक्त कार्यक्रम सचालन गर्नका लागि तत्कालिन अञ्चलाधीशको सक्रियतामा उनलाई जनकल्याण मावि पालुङको प्रधानाध्यापकबाट अन्तरमन्त्रालय सरुवा गरेर २०३६ सालदेखि प्रजा विकास कार्यक्रमको प्रमुख बनाईयो । चेपाङ समुदायको अवस्थाले मानवीय समवदेना जागृत भएर चेपाङहरुको उत्थानका लागि उनी काजमा आएका थिए । आफु भुइँ मानिस भएर होला, भुइँ मानिसकै विकास र उत्थानमा रहर जागेको उनको ठम्याई थियो । मकवानुर शिक्षा र साहित्यका धरोहर तुल्सी थापाजिल्लामा त्यति बेलाको ८ वटा गाउँ पञ्चायतमा चेपाङ जातिको वाहूल्यता रहेको थियो । उनीहरुको जीवनमा परिवर्तन ल्याउन अल्पकालिन कार्ययोजना तयार गर्ने र तत्कालिन जिल्ला पञ्चायतमा प्रतिवेदन बुझाउने, स्वीकृत कार्यक्रमहरुका कार्यान्वयन गर्ने उनको जिम्मेवारी थियो ।
अहिलेको राक्सिराङ गाउँपालिकाको केन्द्र रहेको चैनपुरलाई प्रजा विकास कार्यक्रम प्रचारप्रसारको थलोको रुपमा विकास गरिएको थियो । उनको अधिकांश समय चेपाङहरुको कसरी दिगो रुपमा विकास गर्ने भनेर चैनपुरमा नै बित्थ्यो । त्यतिबेला चेपाङ समुदायको जीवनमा परिवर्तन ल्याउन साहुहरुको तमसुक च्यात्नु पर्ने उनको तर्क रहन्थ्यो । चेपाङहरुलाई आयआर्जनको निम्ति दिएका बाख्राहरु साहुले लैजाने गर्थे । साहुले बाख्रा लैजान थालेपछि चेपाङहरुलाई सीप सिकाउन थाले । चेपाङहरुलाई सीप सिकाउने र उनीहरुको बालबच्चा हेरविचार गर्न स्याहार केन्द्र चैनपुरमा नै राखिएको थियो ।
चेपाङ समुदायको विकासमा योगदान पुर्याएको भन्दै २०४४ सालमा उनलाई ‘गोरखा दक्षिण बाहु’ बाट सम्मानित गरिएको थियो । साँच्चिकै चेपाङहरुको दिर्घकालिन ढंगले उत्थान गर्ने सोच र चिन्तनमा उनी थिए तर त्यतिबेलाको शासन पद्दति र गाउँका अगुवाहरु चेपाङ यथार्थमा चेपाङको विकास रुचाउँदैनथ्यो । चेपाङ समुदायको विकास गर्न आएका रकम त्यतिबेलाका अगुवाहरु अन्यत्र प्रयोग गर्न खोज्थे । त्यो कुरा उनलाई सह्य हुने थिएन । त्यति हुँदाहुँदै पनि लगभग १२ वर्ष उनी चेपाङ समुदायसँग रमाए । चेपाङ समुदायको अमिट सम्झना, माया र प्रेम बोकेर २०४८ सालमा नामटारस्थित कालिका माविमा प्रधानाध्यापकको जिम्मेवारीमा फर्के । उनले आफ्नो कार्यकालमा ओढारमा बसेका ५० परिवार भन्दा बढी चेपाङहरुलाई घर बनाएर स्थानान्तरण गराएका थिए । त्यति हुँदाहुँदै पनि २०७२÷०७३ सालसम्म पनि केही चेपाङहरु ओढारमा नै थिए । चेपाङहरुले मनै भित्रबाट सम्झिइरहने नाम मध्येको नाम हो तुल्सी थापा । ‘मकवानपुरका चेपाङ समुदायलाई उज्यालोतर्फ डोर्याउने काम उहाँले नै गर्नु भएको हो’, नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्द चेपाङले भने, ‘तुल्सी थापाको मृत्युले हामीलाई स्तब्ध बनाउनुको साथै एउटा सच्चा अभिभावक गुमाएका छौँ ।’
पछाडि पारिएका समुदायको उत्थानका लागि १२ वर्षसम्म खटिएका थापा बिक्रम् सम्बत् २००२ साल असोज ३ गते मकवानपुरको भैँसेमा जन्मेका थिए । थापा मकवानपुरे साहित्यिक फाँटका बलिया र सक्षम खम्बा हुन् । थोरै साहित्यिक पुस्तक प्रकाशन गरेर साहित्यिक जगतमा आफ्नो दर्बिलो उपस्थिति देखाउन उनी सक्षम थिए । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका पूर्व अध्यक्षसमेत रहेका थापा समयानुसार साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका थिए । कृतिका रुपमा ‘एक निमेष अनन्तको’ दाना कविता संग्रह, अमर सिंहको खोजीमा अमर सिंह’ नाटक र कथा संग्रह ‘फरक आकाश’ प्रकाशित छन् । दर्जनौ भन्दा बढी मानसम्मान र पुरस्कार पाउन सफल थापा साहित्य संगम मकवानपुर, सहिद स्मारक विकास समिति, मातृभूमि साहित्य समाज जस्ता विभिन्न संस्थाहरुसँग आवद्ध रहेका थिए । समाजलाई सकारात्मक रुपान्तरण गर्न शिक्षा र साहित्यको तर्फबाट थापाले महत्वपूर्ण योगदान दिएको ठम्याई साहित्यकार एवम् प्राध्यापक निमेष निखिलको छ ।
थापा अंग्रेजी विषयका शिक्षक थिए । उनको अगाडि विद्यार्थीहरुमात्र होईन, शिक्षकहरु पनि ठाडो शीर गरेर बोल्न सक्तैनथे । थापाले विद्यार्थीलाई पिट्दैनथे तर ‘ए लाउरे गर्दै’ भनेपछि सबै डराउँथे । उनको विद्यालयमा कडा अनुशासन थियो । उनी प्रधानाध्यापक भएको विद्यालयमा शिक्षक र विद्यार्थी दुबै अनुशासित थिए । काम चोर शिक्षक उनी प्रधानाध्यापक भएको मन पराउँदैनथे । शिक्षक अनुशासित र ईमान्दार भएमात्र विद्यार्थी पनि अनुशासित र सक्षम हुन सक्छन् भन्ने ठम्याई उनको थियो । थापाले थाहा नगरपालिकास्थित जनकल्याण माध्यमिक विद्यालयमा प्रधानाध्यापकको पहिलो जिम्मेवारी सम्हालेका थिए । उक्त माविका हालका प्रधानाध्यापक सानोभाई कार्की उनलाई सम्झँदै भन्छन् “थापा सरको जस्तो कमाण्ड र अनुशासन शिक्षा क्षेत्रमा अहिलेसम्म भेटेको छैन ।” उक्त विद्यालयले थापाको सम्झनामा बुधबार शोक सभा गरेर छुट्टी गरेको छ ।
निरन्तरता र समर्पणले काममा सफलता मिल्ने विश्वास लिएका थापा सरल जीवन र ईमान्दारिताका पर्याय थिए । सानै उमेरदेखि बौद्ध दर्शनको सम्यक दृष्टिकोणबाट प्रभावित भएका कारणले सदैव आफ्नो कर्तव्यपथमा पाएको जिम्मेवारी इमानदारिताका साथ पूरा गरेका थापा अनुकरणीय र प्रेरणादायी व्यक्तित्वको रुपमा रहेको शिक्षासेवी देवप्रसाद श्रेष्ठले भने, “आउँदो पुस्ताले उहाँको आचरण, जीवनशैली र ईमान्दारिताबाट प्रेरित हुँदै अगाडि बढेमा थापाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।” मृत्युको अन्तिम क्षण अर्थात बोली बन्द भइसकेको अवस्थामा नजिकको आफन्तसँग कापी र कलम लिएर अग्रेजीमा ‘वुद्ध र पिस’ लेखेका थिए । यो नै उनको अन्तिम हस्ताक्षर हो ।