विज्ञान र प्रविधिका हिसाबले विश्व साँघुरो बनिरहेको छ । सूचना तथा सञ्चार प्रविधिमा भएको विकासले मानिसको दिनचर्यालाई निकै सहज बनाएको छ । जुनसुकै ठाउँमा बसेर पनि संसारको कुना–कुनाको अवस्था तथा घटनाको जानकारी पाउन सकिने भइसकेको छ । यति धेरै सुविधा दिइरहेको सूचना तथा सञ्चार प्रविधिले मानिसको पेसा, व्यवसाय तथा सबै प्रकारका कामलाई छिटो, छरितो र सजिलो बनाइरहेको छ । हाम्रो जस्तो विकासशील देशमा पनि सूचना तथा सञ्चार प्रविधिको विकास उल्लेख्यरुपमा भएको पाइन्छ । मुलुकमालोकतन्त्र स्थापनापछि सबैभन्दा बढी विकास सूचना तथा सञ्चार प्रविधिकै क्षेत्रमा भएकोमा दुईमत नहोला । सूचना प्रविधिको विकासका कारण भित्रिएको मोबाइल फोन र इन्टरनेटको पहुँचले हरेक मानिसको हातमा सबैकुरा प्राप्त हुने अवस्था बनिरहेको छ । इन्टरनेटको बढ्दो पहुँच र प्रयोगले धेरै सकारात्मक परिणाम ल्याइरहेको भए पनि यसको दुरुपयोगबाट कयौं नकारात्मक प्रभाव पनि परिहेको छ ।
मुलुकमा पञ्चायती शासन कालसम्म पनि सूचना तथा सञ्चार प्रविधिको पहुँच निकै कमजोर रहेको थियो । त्यसबेला एउटा गाउँमा एउटा रेडियो हुन्थ्यो । त्यो पनि अलि हुने खाने वा धनीमानीको घरमा । समाचार सुन्नु परे गाउँभरीका जान्ने बुझ्ने त्यही घरको आँगनमा जम्मा भएर रेडियो सुन्ने गर्थे । शहरबजारमा टेलिभिजनको प्रयोग सुरु भएको भए पनि टोलभरिमा एक–दुई घरमा मात्र यो सिमित थियो । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि रेडियो तथा टेलिभिजनको पहुँच बढ्दै गयो । शहरी क्षेत्रमा टेलिफोनको सुविधा रहेको भए पनि सहज थिएन । मोबाइल फोन भित्रिएपछि सूचना तथा सञ्चार क्षेत्रमा ठूलो फड्को मारेको मान्न सकिन्छ । मोबाइल फोन र यसको प्रविधिको विकास र विस्तारसँगै सहज पहुँच बनेपछि अहिले गाउँगाउँमा, घरघरमा र हातहातमा मोबाइल फोन पुगेको छ । इन्टरनेटको सहायताबाट मोबाइल तथा कम्प्युटरमार्फत् प्रयोग भइरहेका सामाजिक सञ्जालको व्यापकतासँगै सूचना, सञ्चार तथा मनोरञ्जनको क्षेत्रमा निकै सहजता भइरहेको छ ।
आकाशवाणी र चिठ्ठीपत्रको भरमा सूचना तथा सन्देश आदानप्रदान गर्नुपर्ने अवस्था अब इतिहास बनिसकेको छ । सूचना तथा सञ्चारका सबै काम हातमा भएको मोबाइल फोनबाटै हुन्छ । सामान किनबेचदेखि बैंकिङ कारोबारमात्र नभई सरकारी कार्यालयका अधिकांश कामहरु पनि मोबाइलबाटै गर्न सकिने भइसकेको छ । मानिसलाई पलपलको सूचनाका साथै भरपूर मनोरञ्जन लिन इन्टरनेट र मोबाइल भए पुग्ने भइसकेको छ । विभिन्न प्रकारका औपचारिक र अनौपचारिक शिक्षा मोबाइलबाटै हासिल गर्न सकिने भएको छ । मानिसको स्वास्थ्य, जीवनशैली, खानपानका कुराहरु मोबाइलबाटै थाहा पाउन सकिन्छ । आफन्त वा साथीभाइ जहाँ रहे को भएपनि आमुने–सामुनेजस्तै भएर मोबाइलबाट कुराकानी गर्न सकिन्छ ।
सूचना तथा सञ्चार प्रविधिमा भएको विकास र मोबाइलको प्रयोगले मानिसको जीवनमा कयौं अप्ठ्यारा र समस्याहरु पनि बढ्दै गएको छ । भरखरै जन्मिएको शिशुदेखि वृद्धवृद्धासम्म मोबाइलको लतमा फस्दै गएका छन् । बालबालिका तथा युवायुवती त मोबाइलबिना बाँच्नै नसक्ने अवस्थामा पुगिसकेका छन् । मोबाइलबाट प्रयोग गर्न सकिने फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्वीटरलगायत सामाजिक सञ्जालले मानिसलाई बेफुर्सती बनाइदिएको छ । मोबाइलकै कारण मानिसहरु परिवारका सदस्य, आफन्त एवम् सामाजिक गतिविधिबाट टाढिँदै गएका छन् । इन्टरनेट र मोबाइलका कारण साइबर अपराधका विभिन्न गतिविधिमा मानिसहरुको संलग्नता बढ्दो छ । यस्ता प्रविधिको सदुपयोग गरेर कतिपय प्रयोगकर्ताहरुले लाभ लिइरहेका छन् भने कतिपयले यसको दुरुपयोग गरेर प्रविधिलाई नै अभिषाप बनाइरहेका छन् । सही तरिकाले प्रयोग यौनजन्य हिंसा, अनलाइन गेमको लत, अनलाइन ठगी, साइबर अपराध, जातीय तथा धार्मिक असहिष्णुताको खतरा बढिरहेको छ ।