संयुक्त राष्ट्रसंघीय नमूना महासभा आयोजनाबारे जानकारी गराउँदै विद्यार्थी ।

हेटौँडाः हेटौँडा–४ स्थित नवोदय शिशु सदन माविका विद्यार्थीको सक्रियता र सहभागितामा नमूना संयुक्त राष्ट्रसंघीय महासभाको आयोजना हुने भएको छ । यसै साता बिहिबार, शुक्रबार र शनिबार तीन दिवसीय नमूना महासभाको आयोजना गरिने बताइएको छ । विद्यार्थीलाई संयुक्त राष्ट्रसंघको अवधारणा बुझाउन र महासभामा हुने अभ्यासबारे अभिमुखीकरण गराउन नमूना महासभाको आयोजना गर्न लागिएको हो ।

सोमबार विद्यार्थीले नै पत्रकार सम्मेलन गरेर नमूना महासभाको विषयमा जानकारी गराएको थियो । संयुक्त राष्ट्रसंघको नमूना महासभामा महासचिवको भूमिका रायन खनालले निर्वाह गर्दै हुनुहुन्छ । महासभामा विभिन्न ६ वटा इकाईमा पनि फरक–फरक विद्यार्थीलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । संयुक्त राष्ट्रसंघ मातहतको विश्व स्वास्थ्य संगठनको अध्यक्षमा रिजुल जोशी, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्इषमा रोनश उप्रेती, आर्थिक तथा वित्तीय मामिला परिषद्को अध्यक्षमा दृष्टि प्रधान, खाद्य तथा कृषि संगठनको अध्यक्षमा आकांक्षा श्रेष्ठ, अन्तर्राष्ट्रिय श्रम संगठनको अध्यक्षमा समीर चौधरी र संयुक्त राष्ट्रसंघीय पर्यावरण कार्यक्रमको अध्यक्षमा अंकिता अग्रवालले जिम्मेवारी निर्वाह गर्नुहुनेछ ।

राष्ट्रसंघमातहतका ६ वटै समितिले समसामयिक मुद्दालाई नमूना महासभा प्रस्तुत गर्नेछ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य कल्याणका लागि नक्कली औषधीहरुको बढ्दो खतरा, सुरक्षा परिषद्ले आणविक हतियारको उत्पादनको कारणले शान्ति र सुरक्षामा बढ्दो खतरा, आर्थिक तथा वित्त मामिला परिषद्ले अवैध सम्पत्ति र आतंकवादमा आधारित पुँजीको बृद्धि, खाद्य तथा कृषि संगठनले सहरी कृषि प्रवद्र्धन गर्न र खाद्य सुरक्षाको विषयमा बहस गर्नेछ । यस्तै अन्तर्राष्ट्रिय श्रम संगठनले जबर्जस्ती र अनिवार्य श्रमविरुद्ध लडाइँद्वारा निष्पक्ष रोजगारीको रक्षा र संयुक्त राष्ट्रसंघीय पर्यावरण कार्यक्रमले विकिरण प्रदुषण कम गर्न वातावरणीय शासनसँग संसाधन दक्षताको निरन्तरतामा बहस गर्नेछ ।

नमूना महासभामा सहभागी हुँदै गर्दा विद्यार्थीको नेतृत्व विकास, सामूहिक छलफल, विचार तथा धारणाको प्रस्तुती क्षमतामा विकास हुने अपेक्षा विद्यालयले गरेको छ । यस्तै विद्यार्थीमा गतिविधिमा आधारित शिक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत अन्तर्राष्ट्रिय नीति, नियम, योजना तथा समस्या समाधानबारे विश्लेषण गर्ने क्षमता समेत अभिवृद्धि हुने अपेक्षा गरिएको विद्यालयले जनाएको छ । २ पटक भर्चुअलमाध्यमबाट नमूना राष्ट्रसंघीय महासभाको आयोजना गरिएको थियो भने भौतिक उपस्थितिमा हुन लागेको यो दोस्रो पटक हो । नमूना महासभामा हेटौँडा–८, कमानेस्थित कमाने एकेडेमी र हेटौँडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदनका विद्यार्थीसँगै नवलपरासी, रुपन्देही र चितवनका विद्यार्थी पनि सहभागी हुनेछन् ।