साधारणसभामा क्रममा खिचीएको तस्वीर ।

हेटौंडाः हेटौंडा–४ स्थित पारिजातपथ टोल विकास संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार समितिकी अध्यक्ष सृजना पौडेलको सभाध्यक्ष तथा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।
कार्यक्रममा अध्यक्ष पौडेलले समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाले यसवर्ष डेङ्गुसम्बन्धी सचेतना कार्यक्रम, सरसफाइ कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता र दौड प्रतियोगिता आयोजना गरेको उहाँले बताउनुभयो । साधारणसभाको अवसरमा खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

एक हप्ताअगाडि पारिजातपथ टोल विकास संस्था र ओमशान्ति टोल विकास संस्थाको संयुक्त बाल समूह नवसिर्जना बाल समूहको आयोजनामा दौड प्रतियोगिता भएको थियो । १ सय मिटर दौड प्रतियोगितामा ९ वर्ष उमेर समूहमा सुविन श्रेष्ठ प्रथम, स्यारोन अधिकारी द्वितीय र सुजिन लामा तृतीय भएका थिए । यस्तै, ९ वर्षभन्दा माथि छात्रामा कृष्मा भ्लोन प्रथम, एलिसा भट्टराई द्वितीय र कृतिका ढकाल तृतीय भएका थिए । छात्रतर्फ १० वर्षदेखि १५ वर्ष उमेर समूहमा सक्षम श्रेष्ठ प्रथम, सुसन लामा द्वितीय र एञ्जल भट्टराई तृतीय भएका थिए । यस्तै १५ वर्षभन्दा माथि उमेर समूहमा निश्चिल लामा प्रथम भएका थिए ।

कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दाहाल, एकता नगर टोल विकास संस्थाकी अध्यक्ष नमुना पाण्डे, प्रजातान्त्रिक टोल विकास संस्थाकी अध्यक्ष श्वेता कोइराला र ४ नम्बर वडाकी बाल समूह सहजकर्ता अमिशा अधिकारीलगायतको उपस्थिति रहेको थियो ।