पाठकबृन्द, शीर्षकको अर्थ बुझ्दै गइएला, एकैछिन धैर्यता राखौं ल ?
तपाईंलाई कसैले रुपियाँ–पैसा र साथीमध्ये कुनै एउटा कुरा रोज्न सुझायो भने के रोज्नुहोला ? ल हतार नगरिकन सोच्नुस् है ।
जवाफमा मलाई मेरै मन बुझ्न तपाईले प्रतिप्रश्न पनि गर्न सक्नुहोला, ‘अनि तिमीआफैं चैं के छान्छौ नी, पैसा कि साथी ?’
मलाई अलिकति चिन्ने–जान्नेले मेरो जवाफ सहजै अनुमान लगाउन सक्नुहुनेछ म के रोज्दो हुँ । म पनि आफ्नो मनको कुरा भने हतारमा चैं नखुलाई हालुँ ल…?

वास्तवमा हामी धेरै मान्छेमा कुनैपनि कुरामा सोचेर–बुझेर जवाफ दिने, सत्यतथ्य केलाएर, अलिकति विश्लेषण गरेर प्रतिक्रिया दिने भन्दा पनि तत्कालै यसै हो, उसै हो भनिहाल्ने बानी छ । सामाजिक सञ्जालमा यस्तो प्रवृत्तिले राम्रो कुरालाई नराम्रो र नराम्रो कुरालाई राम्रो पारी सनसनी नै फैलाएको देखिन्छ । अझ जे कुरालाई नि राजनीतिसित जोडी हेर्ने प्रवृत्ति हामी नेपालीमा व्याप्त छ । कुन पार्टीको हो, कुन गुटको हो, कसको पछाडिको मान्छे हो भनेर अनेक अनावश्यक संशय गरिन्छ । अनि फेरी पार्टीको होस् नहोस् एकातिर जोडिदिई हाल्ने प्रवृत्ति छ ।

अँ, कुरा रुपियाँ पैसा छान्ने कि साथी छान्ने भन्ने छ । तपाईंले ‘माइन्ड मेकअप’ गरिसक्नुभा हो त, पैसा रोज्नु हुन्छ कि साथी ?
मान्छेलाई पैसाले, धनसम्पत्तिले गाँजेको यो चरम भौतिक दुनियाँमा हत्तपत्त पैसो छोडेर एउटा साथीतिर बहुला कुकुरले टोक्या छ र लाग्ने ? यस्तो पनि तर्क आउन सक्छ । स्वभाविक छ कि पैसा र धन, सम्पत्ति कसलाई नचाहिएको छ र । तर यस लेखनीको शीर्षकले रुसी भाषामा भावनात्मक उत्तर दिएको छ, ‘नि इमेई स्तो रुब्लेई, आ इमेई स्तो दु्रज्जेई ! अर्थात् सय रुबल कमाउन भन्दा सय जना साथी बनाउनतिर लाग ।’

मेरा भाषा शिक्षक इगोर इभानोभिचले सन् १९८३ मै मलाई रुसी भाषामा रहेको यो भनाई घोकाएका थिए । त्यतिबेलादेखि नै मेरा ती गुरुले मलाई सुनाएका यो रुसी भनाई मेरा लागि गायत्रीमन्त्र भन्दा पनि उच्चस्तरको मन्त्रसमान रहिआएको छ । ल, खोलें त मेरा मनका कुरा ! बुझ्नु भो, म केलाई प्राथमिकतामा राख्दो रहेछु, पैसा कि सम्बन्ध । अनि तपाईं ?
मेरी सतिसावित्रीसित यस्तै–यस्तै कुराका प्रसंगमा मेरो बेलाबखत ठाकठुक परिरहन्छ,
उनीः तपाईं खाली साथी–साथी, परिवार–परिवार, दाजुभाइ–दाजुभाइ भन्नुहुन्छ, जमाना यस्तो छ ?
मः जमानाले मित्रता, परिवार अनि दाजुभाइ चाहिन्न, तोडिदेउ भन्या हो र ?
उनीः सबको ध्याउन्न पैसा कमाउने र धन सम्पत्ति जम्मा गर्ने तिरै छ । सबैलाई आफु कसरी बनुँ भन्ने मात्रै स्वार्थ छ । सम्बन्ध बिग्रिन्छ कि भनेर आफैं ठगिएर चुपचाप लागिरहने हो त ?
मः अरु मान्छेहरुले के सोच्छन्, के गर्छन्, त्यो उनीहरुको कुरा भयो । तिमी आफूले के सोच्ने, के गर्ने, त्यो तिम्रो कुरा हुन्छ नि बाबै ! साथीभाइ, परिवार र सम्बन्ध पैसाभन्दा धेरै महत्वपूर्ण हुन्छन् । यो कुरो नबुझेसम्म मानिसहरुले जतिसुकै पैसा कमाए पनि, धन–दौलत हासिल गरे पनि उनीहरुले सुख शान्ति पाउने छैनन् माता ! मित्रताले हामीलााई माया प्रेम, भावनात्मक सहयोग र रेखदेख प्रदान गर्दछ भने वास्तवमा पैसाले ती चिज प्राप्त गर्न सकिँदैन । मान्छे अन्तिममा के चाहन्छ ?

खुसी, शान्ति । त्यो पैसा, त्यो सम्पत्ति के काम, यदि तिनले तिमीलाई अन्ततोगत्वा खुसी र शान्तिको अनुभुति दिएको छैन भने, प्रिय !
अंग्रेजीमा अर्का एकजना विद्वानको मनन्योग्य भनाई छ, ‘इफ मनी स्पिक्स् द ट्रूथ लुजेज ।’ अर्थात् यदि रुपियाँ पैसाको बोलवाला भयो भने सत्य गुम्न पुग्दछ । त्यसकारण पनि हामी सारा मित्रता र सम्बन्धहरु तोडिने गरी पैसाको र धन सम्पत्तिको पछाडि लाग्नु बुद्धिमानी हुँदैन । रुपियाँ–पैसा भनेको जीवन चलाउनका लागि मानिसले मानेको र सजिलोका लागि अपनाएको एउटा माध्यम वा साधन न हो, जीवनको साध्य नै चैं होइन । जीवनको साध्य त खुसी हो, शान्ति हो ।

मेरा रुसी भाषा गुरु उनै इभानोभिचले ४० वर्षअघि मलाई कक्षामा सुनाएका रुसी “नि इमेई स्तो रुब्लेई, आ इमेई स्तो दु्रज्जेई” भनाईले विहंगम अर्थ बोकेको छ । सय रुबल कमाउने भन्दा सयजना साथी बढाउ भन्नुको आशय रुपियाँ पैसाको पटक्कै वास्तै नगर्नु भनेको होइन । यो भौतिक दुनियामा भौतिक शरीर लिएर आएपछि यसको आवश्यकता पूर्तिका लागि वा जीवन चलाउनका लागि केही न केही कमाई–धमाई नगरीकन त भएन । त्यसका लागि कुनै काम र पेशा गर्न पनि जरुरी हुन्छ । तर काम–काम, पैसा–पैसा, सम्पत्ति–सम्पत्ति भनेर त्यसकै मात्रै पछि लाग्नाले मान्छे झन् बढी दुःखमा फस्न पुग्दछ ।

अनि साथी बढाउ भन्नुको अर्थ मित्रता बढाउ, साथीभाई, परिवारबीच सम्बन्धहरु ठीक राख, पैसा र सम्पत्तिसित सम्बन्धलाई नदाँज भनेको हो । साथी बढाउने नाममा जस्तो भएपनि साथी बढाउ भनेको पनि होइन । मित्रभाव राख्नु भनेको हो । साथ दिन–लिन सकिने भएकोले नै साथी भनिएको हो, दुःख सुखमा साथ । तपाईं साथीलाई आर्थिक र भौतिकरुपमा साथ दिन सक्नुहुन्न भने पनि अन्य भावनात्मक साथ दिन–लिन सक्नुहुन्छ, जुन पैसाले किन्न सकिँदैन । कतै भित्तामा लेखिएको याद हुन्छ, पैसाले के किन्न पाईन्छ, के किन्न पाइँदैनः

– विछ्यौना किन्न पाइन्छ, निद्रा किन्न पाईंदैन ।
– खाना किन्न पाइन्छ, भोक किन्न पाईंदैन ।
– सेक्स किन्न पाइन्छ, प्रेम किन्न पाईंदैन ।
– पानी किन्न पाइन्छ, प्यास किन्न पाईंदैन ।
– सहयोगी पाउन सकिन्छ, परिवार पाउन सकिँदैन ।
त्यसकारण पनि पाठकबृन्द, ‘नि इमेई स्तो रुब्लेई, आ इमेई स्तो दु्रज्जेई’ ! जय होस् ।