शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका महिलाहरु ।

हेटौँडाः हेटौँडा–११, थानाभर्याङ्गस्थित नेपाल परिवार नियोजन संघको कार्यालयमा बुधबार निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर भएको छ । परिवार नियोजन संघसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा ९१ जनाले सेवा लिएका छन् ।

शिविरमा स्वास्थ्यजाँचसँगै औषधी पनि निःशूल्क वितरण गरिएको थियो । परीक्षण गराएका मध्ये ९ जना महिलामा समस्या देखिएको छ । समस्या देखिएका महिलालाई थप उपचारको सुविधा समेत प्रदान गरिने बताइएको शिविरको आयोजक लायन्स क्लब अफ हेटौँडा पाथीभरा गोल्डकी अध्यक्ष अप्सरा मानन्धरले जानकारी दिनुभयो । शिविरमा वरिष्ठ स्टाफ नर्स ममिता श्रेष्ठले स्वास्थ्यजाँच गर्नु भएको थियो ।

“पाठेघरको क्यान्सरको जोखिम रोकथामका लागि जाँच गर्न अति आवश्यक रहेको छ”, स्टाफ नर्स श्रेष्ठले भन्नुभयो, “जाँच नगरे जोखिम हुने सम्भावना हुन्छ । छिटो जाँच गरे समस्या धेरै नबढ्ने, समस्याको समाधान गर्न सकिन्छ ।” लायन्स क्लब अफ हेटौँडा पाथीभरा गोल्डले गत वर्षदेखि सचेतना कार्यक्रम गर्दै आएको छ ।