हेटौँडाः हेटौँडा–१०, मेनरोडस्थित जय शम्भु मिष्ठान्न भण्डार र हेटौँडा–४, कान्तिराजपथस्थित चन्दन स्वीट्स एण्ड बेकरीले मंगलबार बिक्री वितरण रोकेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमनका क्रममा उत्पादन तथा बिक्री वितरणका क्रममा सरसफाईमा ध्यान नदिएको भनी जय शम्भु र चन्दन स्वीट्सलाई उत्पादन र बिक्री वितरणमा रोक लगाए पनि सोमबार दुबै पसलले बिक्री वितरण नियमित गर्दै आएको थियो ।
स्थानीय प्रशासन, प्रहरी, सरकारका प्रतिनिधिको सहभागितामा संयुक्तरुपमा अनुगमन गरी रोक लगाउँदा समेत बिक्री वितरण जारी राखेको भनी समाचार प्रकाशन भएपछि दुबै पसलले बिक्री वितरण रोकेको हो । दुबै पसलले अनुगमनका क्रममा सुधार गर्न दिइएको निर्देशन पालना गर्दै सुधार गर्न सुरु गरेको छ । उत्पादन, बिक्री केन्द्रमा सरसफाई गर्न दिइएको निर्देशन अनुसार दुबै पसलले सुधारको कार्य गरिरहेको छ ।