हेटौँडाः बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको बैठक भदौ १७ गते बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले प्रदेश सभा बैठक भदौ १७ गते दिनको १ बजेका लागि बोलाउने निर्णय गरेको हो । विभिन्न १२ बुँदामा निर्णय गरेको मंगलबारको बैठकले बिना विभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ ।
बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय समेत गरिएको छ । प्रदेशमा नेवारी र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउन नेवार र तामाङ समुदायले दबाव दिँदै आएको थियो । भाषा आयोगले समेत कामकाजी भाषाको रुपमा नेवारी र तामाङ भाषालाई प्रयोग गर्न सिफारिस गरेको छ । प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ ।
मन्त्रीपरिषद् बैठकले प्रदेश ऐन, कार्यविधि संशोधन विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय पनि गरेको छ । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।
यस्तै बागमती प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८० स्वीकृत गरेको छ भने प्रदेश विपद् व्यवस्थापन परिचालन कोष कार्यविधि, ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क हवाई उद्दार सेवा सम्बन्धी कार्यविधि–२०८० र प्रदेश आन्तरिक पर्यटन काज सम्बन्धी मापदण्ड, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा सङ्ख्या तथा सिमाना हेरफेरका लागि संघीय सरकारमा पठाउने निर्णय पनि भएको छ ।