चाडपर्वको समय सुरु भएको छ । जब चाडपर्व नजिकिँदै जान्छ, अनि मौसमी बजार अनुगमन सुरु हुन्छ । सरकारी अनुगमन संयन्त्र सक्रिय बनाइन्छ, केही दिन केही व्यवसायको अनुमगन हुन्छ । अनुगनका क्रममा खाद्यान्न तथा किराना पसलमा अखाद्य वस्तु, उपभोग्य मिति नाघेका वस्तु, कम तौल भएका वस्तु, बिना लेबलका बस्तुहरु भेटिन्छन् । होटल तथा मिठाई पसलमा बासी खानेकुरा, अस्वस्थकर खानेकुरा, फोहोर भेटिन्छन् । माछामासु पसलमा पनि समस्या धेरै पाइन्छ । औषधी पसल र क्लिनिकहरुमा पनि थुप्रै अनियमितता पाइन्छ । बजारमा रहेका जुनसुकै वस्तु तथा सेवा प्रदायक व्यवसायको अनुगमन गर्दा केही न केही समस्या पाइने गरेको छ । तर, यसरी आक्कलझुक्कल गरिने अनुगमनका क्रममा थुप्रै त्रुटी एवम् अनियमितता पाइने भए पनि एकाधबाहेक कारबाही हुने गरेको छैन । कतिपय व्यवसायीले अनुगमनका क्रममा दिएका निर्दे शनलाई अवज्ञा गर्नुका साथै कारबाहीलाई नै चुनौती दिँदासमेत सरकारी नियमनकारी निकाय निरिह बन्ने गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले आइतबार र सोमबार हेटौंडा बजार अनुगमनका क्रममा दुईवटा मिठाई पसलमा शिल गरेकोथियो । अनुगमनका क्रममा अत्यधिक फोहर र असुरक्षित भण्डारण एवम् बिक्री वितरणको अवस्था पाइएपछि हेटौंडा–१०, मेनरोडस्थित जय शम्भु मिष्ठान्न भण्डार र हेटौंडा–४, कान्तिराजपथस्थित चन्दन स्वीट्स एण्ड बेकरीमा शिल गरेको थियो । स्थानीय प्रशासन, स्थानीय सरकार र सुरक्षा निकायको समेत सहभागितामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको संयोजनमा भएको अनुगमनका क्रममा कमीकमजोरी भेटिएपछि गरिएको शिललाई बेवास्ता गर्दै व्यवसायीले पसल सुचारु राखेका थिए । व्यवसायीले अनुगमन टोलीले टाँस गरेको सूचनासमेत च्यातेका थिए । उपभोक्ताको हित प्रतिकूल हुनेगरी व्यवसाय गर्ने व्यवसायीले सरकारी अनुगमन संयन्त्रको निर्देशनको अवज्ञा गर्दै शिल गरिएको व्यवसाय सुचारु गर्नुलाई सामान्यरुपमा लिन सकिँदैन । यसले व्यावसायिक क्षेत्रमा दण्डहिनता बढ्नुका साथै उपभोक्ता थप पीडित बन्ने अवस्था देखिएको छ ।

अन्य समयभन्दा चाडपर्वको समयमा बजार अनुगमनले निकै प्राथमिकता र चर्चा पाउने गरेको छ । बजारमा अन्य समयभन्दा चाडपर्वको समयमा उपभोक्ताको चहलपहल बढी हुने र व्यवसायीले बढी अनियमितता गर्नसक्ने सम्भावनाको आधारमा चाडपर्वको समयमा अनुगमनलाई तिब्रता दिनु सान्दर्भिक भए पनि बजार अनुगमन नियमित हुनुपर्छ । बजारमा बेथिति र अनियमितता सधैं हुन सक्छ । नियमनकारी निकायले सधैंभरि बजार अनुगमन गरेर प्रभावकारी कारबाही गर्न सकेमा बजारमा हुने अनियमितताबाट उपभोक्ता पीडित बन्नु पर्दैनथ्यो । मौसमी अनुगमन र झारा टार्ने कारवाहीले व्यावसायिक क्षेत्रको अनियमितता हट्न सक्दैन । अनुगमन र कारबाहीलाई नियमित बनाइँदामात्र पनि उपभोक्ता र व्यापारी धेरै सचेत हुन्छन् ।

हरेक क्षेत्रलाई जाँच्ने र सन्तुलनमा राख्ने काम नियमनकारी निकायको हो । बजार अनुगमनका लागि कुनै अवसर र चाडबाड कुरिरहनु पर्दैन । बजार अनुगमन गर्ने जिम्मेवारी पाएका सरोकारवाला निकायहरु खाद्य तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नाप तौल विभाग, वाणिज्य विभाग, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी, पशु तथा कृषिका विषयगत कार्यालयहरु र सम्बन्धित पालिका सदैब चनाखो र जागरुक बनेर अनुगमनलाई नियमित बनाउनुपर्छ । साथै, उपभोक्ताको हकहितका लागि खो लिएका संघसंगठनहरु, उद्योगी–व्यवसायीका संघसंगठनहरु पनि अनुगमनको लागि सरोकारवाला निकाय हुन् । नियमित र निरन्तर बजार अनुगमन गरेर उपभोक्ताको हकहितमा क्रियाशील रहनुपर्ने यस्ता निकायहरु सक्रिय हुन नसक्दा उपभोक्ता मारमा पर्ने गरेका छन् । आम उपभोक्ता सचेत हुन नसकेको फाइदा उत्पादक तथा व्यापारीले उठाउने परिपाटीको अन्त्यका लागि नियमित अनुमगन र प्रभावकारी कारबाही आवश्यक छ ।