विद्यालय तहको शिक्षामा सामान्यतः कक्षाकोठामा हुने शिक्षण अभ्यास नै प्रमुख रहने गर्दछ । विद्यार्थीले पाठ्यपुस्तकमा समावेश भएका सामग्रीको अध्ययन, शिक्षकको अध्यापनमै आधारित भएर सिक्ने अवस्था रहन्छ । विद्यार्थीलाई विद्यालयभन्दा बाहिर पनि विविध क्रियाकलापमा सहभागी गराएर सिकाउन सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै हेटौँडा–४, अजरअमररोडस्थित सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्जले विद्यार्थीलाई रेडियोको स्टुडियोमै सहभागी गराई कुराकानी गर्ने गरेको छ । गत साता शुक्रबार हेटौँडा–४ स्थित नवोदय शिशु सदनमा कक्षा ८ मा अध्ययनरत अनुषा उप्रेती र दर्शना सापकोटासँग रेडियोकर्मी संगी लामाले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः रेडियोमा बोल्न पाउँदा कस्तो महसुस भइरहेको छ ?
सापकोटाः यो भन्दा अगाडि पनि म रेडियो कार्यक्रममा सहभागी भइसकेका छु । म यो भन्दा अगाडि साहित्यिक कार्यक्रममा सहभागी भइरहेको हुन्थेँ । म आफैँ नयाँ नयाँ कुरा सिक्नका लागि उत्सुक हुन्छु ।
उप्रेतीः हामीले कक्षाकोठाभित्र मात्र नभई बाहिरका कुराको जानकारी लिनुपर्छ भन्ने लाग्छ । राम्रो लागिरहेको छ ।
समाजः कुनै पाठ पढ्दा त्यसले के बुझाउन खोजेको हो भनेर कसरी बुझ्ने र कसरी लामो समयसम्म सम्झन सकिन्छ ?
उप्रेतीः जब हामीले सिक्ने कुरामा ध्यान केन्द्रित भएर पढ्यौं भने त्यो घोकेर पढ्छौं नि त्यो चाहि छोटो समयका लागि मात्र हुन्छ । हाम्रो ध्यान पढाई भन्दा बाहिरको कुरालाई बुझेर पढाईमा ध्यान केन्द्रित गर्यौं भने पाठले के सम्झाउन खोजेको हो भनेर सहजै बुझ्न सकिन्छ जस्तो लाग्छ ।
समाजः घोगन्ते र व्यवहारिक शिक्षामा कुन शिक्षाले विद्यार्थीलाई फाइदा हुन्छ ?
उप्रेतीः घोगन्ते शिक्षामा जस्तै विज्ञानकै पढ्दै गर्दा शब्द के हो बुझ्दै नबुझी शिक्षकलाई सुनाउन कै लागि पढिरहेका हुन्छौं । त्यसलै हाम्रा लागि त्यो त्यति प्रभावकारी हुँदैन । घोगन्ते शिक्षामा त्यति कै फरर पढेर मात्रै हुँदैन । हामी सिक्न, बझ्न आएका हौं । त्यसैले राम्ररी बुझेर पढ्यौं भने हामीलाई फाइदा हुन्छ भने व्यवहारिक शिक्षामा आफैँले बाहिरी कुरालाई लेख्न सक्ने भएकाले घोगन्ते शिक्षा भन्दा व्यवहारिक शिक्षा फाइदा हुन्छ जस्तो लाग्छ ।
समाजः प्रायःजसो विद्यार्थीले तालिका बनाएर पढिरहेका हुन्छन्, अनुषाले चाहि कसरी पढिरहनु भएको छ ?
उप्रेतीः म समयको आधारमा पढ्ने गर्दिन । अहिले नवोदयमा थुप्रै कार्यक्रमहरु हुन्छन् । अझ हाम्रो बिहान कोचिङ पनि हुन्छ । र कतिपय कार्यक्रमहरुमा हामीलाई पनि राख्नु हुन्छ । गृहकार्य गरिसकेछि केही समय बाँकी रहेको हुन्छ । बिहान र दिउँसो के–के पढियो भनेर म आफु त्यसलाई हेर्ने गर्छु । विद्यालयमा शिक्षकले पढाउने पाठमा आधारित रहेर हामीलाई केही लेख लेख्न लगाउनुहुन्छ । बाँकी समय रह्यो भने लेख, रचनाहरु पढ्छु र म आफैं लेख, रचनाहरु लेख्न रुचाउँछु ।
समाजः तालिका बनाएर पढ्दा वा आफुलाई पढ्न मन लागेको बेला कुन बेलामा पढ्ने गर्दा राम्रो हुन्छ ?
उप्रेतीः त्यो चाहिँ विद्यार्थीमा भर पर्ने कुरा हो । कुनै विद्यार्थीले तालिका अनुसार पढ्ने बानी नै पारिसकेको हुन्छ । म चाहिँ पढ्ने तालिका बनाएको छैन । मैले पढ्नुपर्यो भने जुन बेलामा पनि समय निकाल्न सक्छु । हामीलाई पढ्न मन लागेको खण्डमा हामी आफैले किताबहरु पढ्यौं भने त्यो नै हाम्रो दिमाखमा छिटै बस्छ ।
समाजः तपाईलाई पढिरहँदा कुन विषय सबैभन्दा सहज लाग्छ ?
सापकोटाः शिक्षकले पढाई रहनुहुँदा पढाइमा अब्बल विद्यार्थीलाई मात्रै ध्यान केन्द्रित गरेर पढाई रहेका हुँदैन । शिक्षकले सबैलाई ध्यान दिएर सरल र सहज तरिकाले पढाइ रहनुहुन्छ । पढ्ने कुरामा मलाई सानैदेखि गाह्रो हुने विषय भनेको गणित लाग्छ र मेरो केही अभ्यास नपुगेर हो कि । जब म ८ कक्षा पास भए त्यहाँ गणित पढाउनुहुने सरले पढाएको कुरा मेरो दिमागमा बस्यो । उहाँले आज पढाएको कुरा भोलि पनि फेरि पढाउने, बुझेको–नबुझेको भनेर सोध्ने गर्नुहुन्थ्यो । त्यसपछि मेरो गणित विषय सुध्रियो । त्यसैले उहाँले पढाउने तरिका राम्रो लाग्छ ।
समाजः तपाईलाई कुन चिजले आफ्नो विद्यालय राम्रो लाग्छ ?
सापकोटाः हाम्रो विद्यालय नवोदयमा विद्यार्थीले दिएको परीक्षाबाट मात्रै नभई कक्षाकोठामा दिएको गृहकार्य विद्यार्थीले गरेको नगरेको कुरा हेरेर प्राक्टिकल दिन्छ । विद्यालयमा केही कार्यक्रम भएमा हामीलाई राखेर हामीले साथीहरुलाई सहभागी गराउनुहुन्छ । जसले गर्दा विद्यार्थीलाई बाहिरी कुराकोे पनि ज्ञान बढ्छ ।
समाजः विद्यालय बिदाको समयमा घरमा कसरी समय बिताउनुहुन्छ ? परिवारको साथ कस्तो छ ?
सापकोटाः गृहकार्य गर्ने, पुस्तक पढ्ने, नयाँ–नयाँ कुरा बुझ्न मन लाग्छ । मैले चाहिँ पुस्तक पढेरै समय बिताउने गरेको छु । आफुसँग समय छ भने घरायसी कार्य आमाबुवा, दाइदिदीसँग केही कार्य गरेर समय बिताउने गर्छु । सबैसँग मिलेर बस्ने, मिलेर सकेको काम गर्ने गरेको छु ।
समाजः अनुषालाई पढाईको बाहेक के गर्न रुची छ ?
उप्रेतीः मलाई पढाई बाहेकको साहित्यमा पनि इच्छा र चाहना छ । पहिला म अर्को विद्यालयमा पढ्दाखेरि बाहिरी ज्ञान थिएन । जबदेखि नवोदयमा पढेँ तबदेखि बाहिरी यो ज्ञान छ भनेर प्रस्फुटन, प्रस्तुत र पहिचान गर्न पाएको छु ।
समाजः तपाइँको भविष्यमा के बन्ने सोच छ ?
उप्रेतीः सबै कुरा सम्भव हुन्छ भन्ने छैन । एकचोटि अस्पतालमा गएकी बेलामा एकजना आर्थिक स्थिति कमजोर भएको मान्छेले सहयोग मागिरहेको देखेको थिएँ । त्यस्तो अवस्थालाई देखेर म भविष्यमा डाक्टर बन्ने सोँच छ । त्यस्तो गरीब जनताले सहज तरिकाले उपचार गर्न पाउछ ? जस्ता मेरो मनमा प्रश्नहरु उठेको थियो । त्यही भएर म डाक्टर पढ्न रुची छ ।
समाजः दर्शनालाई कुन क्षेत्रको कुराले मनोरञ्जन दिन्छ ?
सापकोटाः मलाई सानैदेखि नृत्यमा धेरै रुची छ । आफ्नै साथीहरुसँग नच्न पाउँदा मनोरञ्जन मिल्छ । हाम्रो नवोदय शिशुमा डान्स कार्यक्रम राख्छ । त्यो कार्यक्रम आयो भनेपछि मलाई धेरै खुसी लाग्छ ।