हेटौँडाः हेटौँडा–२ स्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यालय परिसरमै मंगलबार बिहान भएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमसँगै सहकारीले ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा अपनाउनुपर्ने सतर्कताका विषयमा पनि प्रदर्शन गरिएको थियो । ग्यास सिलिण्डर लिक भएर हुन सक्ने आगलागीको जोखिमको विषयबाट बच्न अपनाउनुपर्ने सतर्कताका विषयमा नेपाल स्काउटका अशोक सारु मगरले जानकारी गराउनुभएको थियो ।
सहकारीका अध्यक्ष दिलिश गोविन्द जोशीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा २ नम्बर वडाअध्यक्ष विष्णुगोपाल महर्जन, ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरेको पनि आतिथ्य रहेको थियो ।