प्रभातफेरीमा सहभागी फोनिज आवद्ध पत्रकारहरु ।

हेटौँडाः नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले शनिबार प्रभातफेरी कार्यक्रमको अयोजना गर्दै फोनिजको स्थापना दिवस मनाएको छ । बागमती प्रदेशको राजधानी हेटौँडाको मुख्यचोक सिमाचोकबाट उद्योग वाणिज्य संघसम्म प्रभातफेरी कार्यक्रमको अयोजना गर्दै फोनिजको २४ औं स्थापना दिवस मनाएको हो ।

पहिचान र अधिकारका लागि समावेशी सञ्चार, ऐन कानुनको निर्माण, संविधान कार्यान्वयनको आधार भन्दै फोनिजले स्थापना दिवस मनाएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाका अध्यक्ष अशोक सुजन श्रेष्ठको सभाध्यक्षमा कार्यक्रम भएको हो । अध्यक्ष श्रेष्ठले देशभर आइरहेको आर्थिक मन्दीले पत्रकारहरुको जीविकोपाजर्नमा समस्यामा परेको बताउनुभयो ।

श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयनमा नआउँदा समस्यामा परेको उल्लेख गर्नुहुँदै अध्यक्ष श्रेष्ठले श्रमजीवि पत्रकारहरुको हकहितका लागि फोनिजले सरोकारवाला निकाय समक्ष आवाज उठाउन भूमिका खेल्ने बताउनुभयो । फोनिजका केन्द्रीय पार्षद् एवम् नेवा पत्रकार दवु मकवानपुरका अध्यक्ष सूवर्णलाल श्रेष्ठले फोनिजको वृत्तिविकासका लागि सबै आदिवासी पत्रकारहरुको सक्रिय सहभागिता रहनुपर्ने बताउनुभयो ।