हेटौँडाः क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का कार्यबाहक सचिव दुर्गाराज पाठकमाथि हेटौँडामा मोविल छ्यापिएको छ । क्यान मकवानपुरको अधिवेशनमा सहभागी पाठकमाथि शनिबार बिहान मोविल प्रहार भएको हो । क्यान मकवानपुरको अधिवेशनको उद्घाटन समारोहपछि खाना खाइरहनुभएका पाठकमाथि दुईजना व्यक्तिले आएर मोविल छ्यापेको क्यान मकवानपुरका कार्यवाहक सचिव विनोद कुमार बानियाँले जानकारी दिनुभयो ।
“उद्घाटन सत्र सकिएपछि खाना खान सबैजना तल ओर्लिएका थिए । म माथि हलमै खानापछि बन्द सत्र व्यवस्थापनका लागि आवश्यक तयारी गर्दै थिएँ”, क्यान मकवानपुरका कार्यवाहक सचिव बानियाँले भन्नुभयो, “तल खाना खाइरहनुभएका पाठकमाथि मोविल छ्यापियो भन्ने सुनेर हतार–हतार हेर्न जाँदा मोविल छ्याप्नेहरु भागिसकेका थिए ।” क्यान मकवानपुरले दोषीलाई खोजी गरी कारवाही गर्न प्रहरीमा उजुरी दर्ता गराइसकेको बानियाँले बताउनुभयो ।
क्यान मकवानपुरका अध्यक्ष बासुलाल श्रेष्ठले दुखद् घटना भएको उल्लेख गर्नुभयो । “जिल्ला अधिवेशन भाँड्ने हेतुले आक्रमण भएको देखिन्छ । यो दुखद् घटना भयो । हामीले प्रहरीलाई जानकारी गराइसकेका छौं”, अध्यक्ष श्रेष्ठले भन्नुभयो । मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले घटनाको विषयमा उजुरी प्राप्त भएको र प्रहरीले अनुसन्धान एवम् खोजी कार्य सुरु गरिसकेको बताउनुभएको छ ।