हेटौँडाः अखिल नेपाल फुटबल संघ (एन्फा) ले १६ वर्ष उमेर समूहमा राष्ट्रिय टिमको ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरको छनोट प्रतियोगिता गर्दै मंगलबार एन्फाले ४० सदस्यीय प्रारम्भिक टोली चयन गरेको हो । यसअघि जिल्ला तहबाट खुलारुपमा छनोटमा सहभागी १२ जनामध्ये कोही पनि नछानिए पनि अहिले क्लबमा आवद्ध रही क्लबको प्रतिनिधित्व गर्दै मकवानपुरका ३ खेलाडी राष्ट्रिय टोलीको प्रारम्भिक सूचिमा समेटिएका हुन् ।
ए डिभिजन क्लब एनआरटीबाट मकवानपुरका विशेष बानियाँ र सन्तोष गोङ्बा चयन भएका छन् यस्तै त्रिभुवन आर्मी क्लबबाट भुवन कामी राष्ट्रिय टिमको प्रारम्भिक सूचिमा परेका हुन् । बानियाँ र गोङ्बाट एनआरटीबाट यु–१६ लिग समेत खेलिरहेका छन् भने कामी पनि त्रिभुवन आर्मीबाट यु–१६ लिगमा खेलिरहेका छन् । कामी यु–१३ देखि नै त्रिभुवन आर्मीमा आवद्ध छन् । यु–१६ राष्ट्रिय टिमले दक्षिण एसियाली यु–१६ फुटबल प्रतियोगितामा सहभागिता जनाउने छ । यु–१६ फुटबल प्रतियोगिता आगामी भदौ १५ देखि २५ गतेसम्म भुटानमा आयोजना हुँदैछ ।